फाइल फोटो
नेपाली एअरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एअर सेफ्टीं) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकासमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्रसचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको आधारपत्र नेपालका लागि युरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार (आज) हस्तान्तरण गरेका हुन् ।
परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले गत फागुनको पहिलो हप्ता गरेको ब्रसेल्स भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो सूचीको प्रावधान हटाउन अनुरोध गरेका थिए ।
मन्त्री डा.महत र युरोपेली आयोगका अध्यक्ष युंकरबीचको भेटकाक्रममा भएको सहमझदारीअनुसार आयोगले मागेको पछिल्लो प्रगति प्रतिवेदनसहितको मापदन्ड पूरा गरिएको पत्र बुधबार राजदूतमार्फत् आयोगलाई हस्तान्तरण गरिएको हो ।
भेटमा आयोगका अध्यक्ष युंकरले मन्त्री डा.महतलाई पछिल्लो समयमा उक्त हवाई सुरक्षा मापदन्ड पूरा गरेकोसम्बन्धी कागजका आधारमा नेपालको उक्त सूची हटाइने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो पत्रमा हवाई सुरक्षा (एअर सेफ्टींं) सम्बन्धमा नेपालले हालैका वर्षहरूमा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाव) ले गरेको तथ्यगत प्रगति समावेश छ ।
आइकावको प्राविधिक समूहले गत नोभेम्बर महिनामा गरेको अध्ययनअनुसार उक्त संगठनले हवाई सुरक्षाका सम्बन्धमा तय गरेको मापदण्ड नेपालले पूरा गरेको छ । सो पत्रमा उक्त मापदन्ड र यसको कार्यान्वयनबारेको नेपालको पछिल्लो अवस्था समेटिएको छ ।
उक्त पत्र बुुझ्दै राजदूत रिन्जेले आफूले चाँडै युरोपेली सङ्घमा पत्र पठाउने र छिट्टै नेपाल कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरेकी छन् ।
युरोपेली सङ्घले युरोपेली देशहरूको आकासमा नेपाली एअरलाइन्समाथि लगाउँदै आएको सो प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्