Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


पाँच वर्षभित्रमा घरभित्रको धुवाँमुक्त नेपाल बनाइने


0
Shares

परम्परागतरुपमा प्रयोग हुदै आएका दाउरा, गुइँठाजस्ता ऊर्जालाई आधुनिक दिगो र स्वच्छ ऊर्जाकोरुपमा विकास गर्ने उद्देश्य रणनीतिमा राखिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तयार पारेको रणनीतिको बुधबार जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सार्वजनिक गरे ।

जैविक ऊर्जाको उत्पादन र प्रयोगमा दक्षता बढाइ थप प्रभावकारिता ल्याउने र बायोडिजेल एवं बायोइथानोलको प्रयोगबाट डिजेल र पेट्रोलको प्रयोग घटाउने रणनीति लिएको मन्त्रालयले जनाएको छ ।

रणनीतिले सन् २०२२ सम्म देशका सम्पूर्ण घरधुरीहरुमा कम्तीमा जैविक ऊर्जाका स्वच्छ खाना पकाउने प्रविधिहरुको थप प्रवद्र्धन गरी घरभित्रको धुवाँमुक्त नेपाल बनाउने नीति लिएको छ ।

यस्तै, सन् २०३० सम्म दाउरा, गुइँठाजस्ता ठोस जैविक इन्धन प्रयोग गर्ने सम्पूर्ण घरधुरीहरुमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने नीतिसमेत लिएको जनाइएको छ ।

नेपालमा हालसम्म नवीकरणीय ऊर्जाअन्तर्गत् लघु तथा साना जलविद्युत्बाट देशका ग्रामीण क्षेत्रमा झन्डै २९ मेगावाट विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।

यस्तै, १३ लाखभन्दा बढी सुधारिएको चुलो, ३ लाख ८० हजारभन्दा बढी बायोग्यास प्लान्ट, ६ लाख ५० हजारभन्दा बढी सौर्यऊर्जा प्रणाली जडान भएको केन्द्रले जनाएको छ ।

पछिल्लो राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार नेपालमा रहेका ५४ लाख घरपरिवारमध्ये ४० लाख घरपरिवारमा अझै खाना पकाउने इन्धनकारूपमा दाउरालगायतका परम्परागत जैविक ऊर्जाको प्रयोग हुँदै आएको जनाइएको छ ।