Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


गरिबको नाममा करोडपति बन्ने सपना नदेख्न लघुवित्त कम्पनीहरुलाई गभर्नरको चेतावनी


0
Shares

ग्रामीण अर्थतन्त्रलाई सवल र सक्षम बनाउने लघुवित्त कार्यक्रमको उद्देश्यलाई आत्मसाथ गर्न उनले आग्रह गरे ।

चौथो राष्ट्रिय लघुवित्त सम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै मन्त्री महराले वित्तीय र मानवीय सन्तुलन कायम गर्ने लघुवित्त कार्यक्रमको उद्देश्य सफल बनाउन आग्रह गरे ।

सार्वजनिक–निजी–सहकारी तीनखम्बे अर्थनीति अवलम्बन गर्दै समाजवादउन्मुख अर्थतन्त्रतर्फ जाने संविधानको उद्देश्य रहेको भन्दै उनले यसलाई सफल बनाउन पनि लघुवित्त संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले लघुवित्त संस्थाहरु नाफामुखी भइरहेको भन्दै स्वःनियमनमा बस्न निर्देशन दिए ।

उनले गरिब, विपन्न वर्गको नाममा करोडपति बन्ने सपना नदेख्न लघुवित्त कम्पनीहरुलाई चेतावनी दिए ।

उनले विपन्न वर्गमा काम गर्न राष्ट्र बैंकबाट स्वीकृति लिएका गैरसरकारी संस्थालाई लघुवित्त संस्थामा रुपान्तरण हुँदै वित्तीय कारोबार गर्न केन्द्रीय बैंकले स्वीकृति दिएको जानकारी गराए ।

अब गैरसरकारी संस्थाबाट लघुवित्त विकास बैंक बनेकाहरुले २०७५ मंसिरभित्र सेयर जारी गरिसक्नुपर्छ । उनीहरु कम्पनी ऐनअनुसार दर्ता हुनुपर्ने उनले उल्लेख गरेका हुन् ।

लघुवित्त कम्पनी थपिएपछि लगानी विस्तारमा सघाउ पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह, नेपाल माइक्रोफाइनान्स संघका अध्यक्ष रामचन्द्र जोशी, सेन्टर फर माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत हरिहर आचार्यलगायतले लघुवित्त क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको भन्दै सचेत बन्न आग्रह गरे ।

५२ ओटा लघुवित्त संस्थाले २४ लाख विपन्न वर्गलाई सेवा दिँदै आएको जनाइएको छ ।