Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


मन्त्री अधिकारीको निधनमा राष्ट्रियसभाबाट शोकप्रस्ताव पारित


0
Shares

काठमाडौं, फागुन १७ । राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोकप्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

शुक्रबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोकप्रस्ताव प्रस्तुत् गरेका थिए ।

बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौनधारणसमेत गरेको छ ।

शोकप्रस्तावमा भनिएको छ–‘मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एअरपोर्ट निरीक्षणपश्चात् पाथीभरा देवीको दर्शन गरी काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा बैठक गहिरो शोक प्रकट गर्दछ ।’

२०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित सदस्य अधिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य थिए ।

युवा अवस्थादेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय अधिकारी व्यवस्थापिका–संसदको विकास समितिको पूर्वसभापतिसमेत थिए ।

बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

शोकप्रस्ताव पारित गरेसँगै शुक्रबारको बैठक सकिएको छ । अर्को बैठक फागुन १९ गते आइतबार १ बजे बस्नेछ । रासस