Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


गृहमन्त्रीले भारतीय समकक्षीसमक्ष कन्चनपुर घटना र सीमा विवादका विषयमा कुरा उठाए


0
Shares

नर्थ ब्लकस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कन्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएको गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अफसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए ।

त्यसअवसरमा गृहमन्त्री निधिले नेपाल–भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनओटा संयुक्त प्राविधिक टिममा दुईओटा टिम थपेर सीमास्तम्भलगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका थिए ।

भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।

दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान आपसी सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

भारतीय समकक्षी सिंहसँगको भेटमा गृहमन्त्री निधिले विगतको संविधानसभा चुनावमा भारतीय पक्षले गृह मन्त्रालय र निर्वाचन आयोगलाई आवश्यकपर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि सहयोगका लागि आग्रह गरेका थिए ।

भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने विषयलाई सकारात्मकरुपमा लिएका थिए ।

सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।

प्रतिआतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँदिल्ली आएका गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त छन् । रासस