
काठमाडौं, असार २१ । वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणको बालाजु वितरण केन्द्रकाअनुसार प्रणालीको सुधार तथा सडक विस्तारका लागि शुक्रबार विद्युत् कटौती गर्न लागिएको हो ।
बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वनस्थलीचोकदेखि बालाजु प्रहरीचौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेशनअन्तर्गत्का फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको बताए ।
बालाजु–नागार्जुन फिडरअन्तर्गत् जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
यस्तै, बालाजु–धर्मस्थलीअन्तर्गत् पुरानो गुह्येश्वरी, फूलबारी गेट, मुड्खु, बतासेडाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्