२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको अन्त्येष्टिको तयारी


0
Shares

पोखरा विमानस्थलबाहिर मन्त्री अधिकारीको शवको प्रतीक्षामा बसेका सर्वसाधारण । तस्वीर : @cwathapa

पोखरा, फागुन १७ । हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृहजिल्ला कास्कीमा आज गरिनेछ । काठमाडौंको श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर पोखरा लगिएको छ । मन्त्री अधिकारीको शव लिएर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल पोखरा पुगेका हुन् ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जली दिएपछि शवयात्रासहित रामघाटस्थित सेती नदीको किनारमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने तयारी गरिएको छ । शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुग्ने छ ।

दुर्घटनाको खबर पाएलगत्तै काठमाडौं आएका अधिकारीका परिवारका सदस्यहरु हिजो पोखरा फर्किएका छन् ।

उता, पोखरामा रहेका मन्त्री अधिकारीका परिवारजनलाई भेटेर विभिन्न क्षेत्रका ब्यक्तिहरुले सान्त्वना दिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेशका सबै मन्त्रीहरुले अधिकारीका बाबुआमा तथा परिवारका अन्य सदस्यहरुलाई भेटेका हुन् । अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।