८ असार २०८१, शनिबार | Sat Jun 22 2024


देशभर नै लोडसेडिङ हट्यो


0
Shares

विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने विहिबार (आज) साँझदेखि औपचारिक रुपमा नै विद्युत्भार कटौतीको अन्त्य गरेको जनाएको हो ।

काठमाडौँ, कास्की, चितवन लगायतका जिल्लामा यसअघि नै पूर्णरुपमा विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले मुलुकभर नै त्यसलाई निरन्तरता दिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

साँझको समयमा औद्योगिक क्षेत्रमा भने चार घन्टा विद्युत् कटौती गरिएको छ । मुलुकभित्रै रहेका ठूला तथा मझौला आयोजनालाई साँझको समयमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । भारतबाट ३ सय ८० मेगावाट विद्युत् आयात भइरहेको छ ।

प्राधिकरणले हाल ९ सय ३० मेगावाट विद्युत् उपलब्ध गराइरहेको छ । कुल मागको दुई तिहाइ माग काठमाडौँ उपत्यकाभित्र रहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दा घरायसी प्रयोगका लागि विद्युत् उपलब्ध गराउन सहज भएको प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणले बढी विद्युत् खपत गर्ने उपकरण साँझको समयमा नचलाउन उपभोक्तालाई आग्रहसमेत गरेको छ । रासस