६ असार २०८१, बिहिबार | Thu Jun 20 2024


संविधान संशोधन पारित गर्न कांग्रेसमा तीव्र दबाब


0
Shares

तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुको शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकले यही चैत १० गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

बैठकमा बोल्ने अधिकांश वक्ताहरुले कांग्रेस मुलुकको जिम्मेवार पार्टी भएको र मुलुकको जटिल समस्या समाधानमा कांग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिएको बैठकमा सहभागी सांसद रामकृष्ण यादवले जानकारी दिए ।

‘बैठकले तराई मधेसको समस्या समाधानमा पार्टीले अग्रसरता लिनुपर्छ भन्ने निष्कर्ष निकालेको छ,’ नेता यादवले भने, ‘अधिकांशले मुलुक र जनताको हितमा संशोधन प्रस्तावलाई पारित गर्न प्रक्रियामा लगेर पारित गराउन केन्द्रीय समितिले निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।’

संविधानलाई सर्वस्वीकार्य बनाई स्थानीय निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्न पनि संशोधन पारित गर्न लाग्नुपर्नेमा बैठकका सहभागीको जोड थियो । बैठकमा नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर, तारिणीदत्त चटौत, अमरेशकुमार सिंह, सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, भरत साहलगायत केन्द्रीय सदस्य र सांसदको उपस्थिति थियो । (रासस)