२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


स्थानीय निर्वाचनमा ६ प्रकारका मतपत्र, काठमाडौंमा ४७ र मनाङमा सात दल दर्ता


0
Shares

पचहत्तरै जिल्लामा फरक–फरक संख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि साना–ठूला गरी विभिन्न ६ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौंमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् ।

आयोगले शनिबारदेखि मतपत्र छाप्ने भने पनि तयारी नपुगेपछि अब एक/दुई दिनमा सुरु गरिने भएको छ । आयोगले मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छाप्ने तयारी गरेको छ ।

निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहने अनुमान गरिएको छ ।

निर्वाचनमा नगरपालिकामा एक हजार ४८८ प्रमुख उपप्रमुख तथा ७८९ दलित/अल्पसंख्यक सदस्य पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, गाउँपालिकामा ३३ हजार चार सय वडा अध्यक्ष र उपाध्यक्ष तथा ९ सय ६२ दलित/अल्पसंख्यक सदस्य पदका लागि निर्वाचन हुनेछ । कुल ३६ हजार ६ सय ३९ पदका लागि निर्वाचन हुनेछ ।

आयोगमा दर्ता भएका कुल एक सय १३ दलमध्ये तोकिएको समयमा ७९ दललेमात्र निर्वाचनमा भाग लिन आवेदन दिएका छन् ।

मुलुकभर चार सय ८१ गाउँपालिका, दुई सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका गरी सात सय ४४ स्थानीय तह तथा सबै तहमा गरी कुल ६ हजार ६ सय ८० वडा छन् ।

त्यसमध्ये संसदमा हाल प्रतिनिधित्व गरेका २६ दललेमात्र आफ्नो चुनाव चिह्नसहित भाग लिन पाउनेछन् ।

बाँकी दल र स्वतन्त्र उम्मेदवारले भने आयोगले निर्धारण गरेको चिह्नका साथ निर्वाचनमा भाग लिनुपर्ने आयोग, कानुन तथा राजनीतिक दल शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले बताए । रासस