आइतबार बसेको व्यवस्थापिका–संसद बैठकमा एमालेलगायतका विपक्षी दलका सांसदहरुले राष्ट्रलाई अर्बौं घाटा लाग्ने गरी एनसेललाई कर छुट दिन लागेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको चर्को आलोचना गरे ।
एमाले सांसद राजेन्द्र पाण्डेले सरकारले बजेट ल्याउँदा राखिएका आयोजनाहरुलाई रकम निकासा नगरी चितवन, रोल्पा, रुकुमलगायतका जिल्लामा सरकारले मनपर्दीरुपमा रकम वितरण गरेको आरोप लगाउँदै अर्थमन्त्री कृष्णबहादुर महराको राजीनामा माग गरे ।
सांसदहरुले स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन पनि माग गरेका छन् ।
स्थानीय निर्वाचनका लागि मिति नजिकिँंदै जाँदासमेत राजनीतिक वातावरण बनिनसकेको र मधेसमा निर्वाचन के हुन्छ भन्ने अन्योल रहेको भन्दै सत्तारुढ दलका सांसदहरुले निर्वाचनका लागि वातावरण बनाउन माग गरेका हुन् ।
बैठकमा राप्रपाका सांसदहरुले आफ्नो विधानमा उल्लेख भएको ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दूराष्ट्र’ नेपालको विषयलाई हटाएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका थिए ।
उनीहरुले सबैलाई विचार र सिद्धान्तसहित राजनीति गर्ने स्वतन्त्रता भएको भन्दै आयोगले आफ्नो कदम नसच्चाए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए ।
आइतबारको संसद बैठकले पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक, प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक सेवा–सुविधा र अन्य शर्तसम्बन्धी विधेयक र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक सेवा–सुविधा र अन्य शर्तसम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
यसअघि, आइतबारै बसेको संसदको पहिलो बैठकले पूर्वसांसद रामहरि ढुंगेलको निधनमा शोकप्रस्ताव पारित गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्