
नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं जारी शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।
नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसामा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो । २०४६ पछि मृत्युपर्यन्त नेपाली राजनीति आफ्नै वरिपरी घुमाउन सफल कोइराला शुरुतिर कम्युनिष्टप्रति असहिष्णु देखिए पनि जीवनको उत्तरार्द्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्न पुगे ।
आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनर्स्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो । यद्यपि, कोइरालाको निधनको सात वर्षसम्मपनि राष्ट्रिय राजनीतिका मुद्दाहरु सफल अवतरण हुन सकेका छैनन् । संविधान जारी त गरिएको छ तर त्यो संविधानको स्वीकार्यता र कार्यान्वयनको प्रश्न अहम् बनेर आएको छ ।
आगामी वर्षको माघ ७ भित्र तीन/तीन वटा निर्वाचन गर्दै संविधान कार्यान्वयनमा लैजाने क्षमता वर्तमान राजनीतिका अगुवाहरुले देखाए भने मात्र कोइरालाले शुरु गरेको पछिल्लो राजनीतिक यात्रा टुंगोमा पुग्ने र उनीप्रति सच्चा श्रद्धाञ्जली ठहर्नेछ ।
प्रतिक्रिया दिनुहोस्