Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार, धोका भयो : झा


0
Shares

बैठक सुरु हुनासाथ मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाकाबारेमा छानबिन समिति गठन गर्न माग गरिन् ।

ती घटनाप्रति दुःख व्यक्त गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनका कारण मानवीय क्षति भएको आरोप लगाइन् ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमाथि मधेसकेन्द्रित दलहरुले आशा गरेर समर्थन गरेकोमा आफूहरुलाई धोका भएको बताउँदै सांसद झाले सोमबारको बैठकमा पनि परिमार्जनसहितको संविधान संशोधन प्रस्तावको कार्यसूची नआएको भनी आपत्ति जनाइन् ।

संविधान संशोधनको सट्टा सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरेर मोर्चाको घाउमा नुन छर्कने काम गरेको आरोप लगाउँदै उनले भनिन्–‘हामी सहमति र वार्तामार्फत् समस्या समाधान गर्न चाहन्छौं, हामी सहमति गरेर संविधानप्रति अपनत्व खोजिरहेकाबेला संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेकोप्रति हाम्रो आपत्ति छ ।’

आफूहरु देशभित्रै अधिकार मागिरहेको भन्दै सांसद झाले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बसेको सरकारलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नका लागि पहल गरिदिन सभामुखलाई आग्रह गरिन् ।

त्यसकोलगत्तै मोर्चासँग आबद्ध दलका नेताहरु नारा लगाउँदै बैठकबाट बाहिर निस्किएका थिए । रासस