Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


थप विद्युत् उपलब्ध गराइदिन भारतसँग राजदूत उपाध्यायको आग्रह


0
Shares

                                                                                 फाइल फोटो
राजदूत उपाध्यायले शुक्रबार भारतीय विदेश मामिला राज्यमन्त्री एमजे अकबरसँग शिष्टाचार भेटवार्ता गरी थप विद्युत् उपलब्ध गराउन आग्रह गरेका हुन् ।

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारणलाइनकारुपमा रहेको कुशाहा–कटैया र रक्सौल–परवानीपुर प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ ।

ती प्रसारणलाइनमार्फत् थप ५०/५० मेगावाट विद्युत् आयातको तयारीमा नेपाल सरकार रहेको छ । भारत सरकारले आधिकारिक निर्णय नगर्दा विद्युत् आयात हुन सकेको छैन ।

राजदूत उपाध्यायले थप विद्युत् उपलब्ध गराउने विषयमा कुराकानी गरेका हुन् ।

राजदूत उपाध्यायले राज्यमन्त्री अकबरसँग भारत सरकारको सहयोगमा अगाडि बढिरहेको आयोजनाको शीघ्र कार्यान्वयनका विषयमासमेत कुराकानी गरेका थिए ।

विशेषगरी सडक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने विषयमा छलफलकेन्द्रित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, राजदूत उपाध्यायले नेपाली सामान निर्यात गर्दा लाग्दै आएको अतिरिक्त शुल्क, ड्यामरेज चार्ज (ठाउँ ओगटेबापतको शुल्क) तथा जुट र जुटजन्य सामग्रीमा लाग्दै आएको शुल्क हटाउनसमेत राज्यमन्त्री अकबरसँग आग्रह गरेका थिए ।

नेपाली राजदूतको आग्रहमा राज्यमन्त्री अकबरले समस्या समाधानमा भारत सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । रासस