२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


ताप्लेजुङमा ७३ ओटा मतदान केन्द्र निर्धारण


0
Shares

जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुंगो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए ।

वि.सं. २०७० को दोस्रो संविधानसभाको निर्वाचनमाभन्दा योपटक ८ ओटा मतदान केन्द्र थप गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीकाअनुसार फुङ्लिङ नगरपालिकामामात्र पाँचओटा केन्द्र थप गरिएका छन् ।

थप भएका मतदान केन्द्रमध्ये महेन्द्र आधारभूत विद्यालय आम्बोटे, याङ्लिजुङ आधारभूत विद्यालय तारिबुङ, सामुदायिक भवन र कभर्डहल रहेका छन् ।

त्यस्तै, गंगा आधारभूत विद्यालय साँघु, सगरमाथा प्रावि खोक्लिङ र ठोट्ने आधारभूत विद्यालय ढुंगेसाँघुमा पनि मतदानस्थल रहनेगरी सिफारिस गरिएको अधिकारीले जानकारी दिए ।

समितिले तीनओटा केन्द्र भने परिवर्तन गरेको छ । नेरा आधारभूत विद्यालय चाँगेलाई चाँगे माविमा, मदनस्मृति प्रावि ढुंगेसाँघुलाई जनकल्याण माविमा र शिवालय प्रावि दोखुलाई सिद्धकाली माविमा परिवर्तन गरिएको उनले बताए ।

गाउँपालिकाको प्रत्येक वडामा एउटा अनिवार्य र एक हजार बढी मतदाता रहेको गाउँमा दुईओटा केन्द्र राख्न सकिने प्रावधान छ ।

त्यस्तै, मतदातालाई पाँच किमिभन्दा टाढा नपर्ने गरी केन्द्र निर्धारण गर्नुपर्ने व्यवस्था रहेको प्रमुख अधिकारीले बताए ।

‘तर भैगोलिक क्षेत्र विकट र ठूलो भएको ठाउँमा केन्द्र निर्धारण गर्दा वडामा एक हजारभन्दा कम जनसंख्या भएपनि केन्द्र राख्ने प्रावधान रहेको’ उनले बताए । रासस