
७५ जिल्लामा मतदान केन्द्र तोकिएसँगै अन्तिम मतदाता नामावली पनि टुंगो लगाउने तयारी आयोगले गरेको छ ।
आगामी वैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख मतदाताले ३६ हजार ६ सय ३९ जनप्रतिनिधि चयन गर्दैछन् । त्यसका लागि निर्वाचन आयोगले करिब २१ हजार मतदान केन्द्र तय गर्नेछ ।
निर्वाचन आयोगले निर्वाचन केन्द्र तोक्ने कामलाई तीव्रता दिइरहेको छ । अहिलेसम्म ६४ जिल्लामा मतदान केन्द्र तोकिएका छन् ।
बाँकी जिल्लामा राजनीतिक दलको परामर्शमा जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीकोसमेत परामर्शमा मतदान केन्द्र तोक्ने प्रयास गरिरहेको छ । २ नम्बर प्रदेशमा भने अधिकांश स्थानमा मतदान केन्द्र तोक्न बाँकी छ ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले २० जिल्लाको मतपत्र छाप्ने कामसँगै ६४ जिल्लामा मतदान केन्द्र निर्धारण गरिसकिएको बताए ।
स्थानीय तहमा सातओटा पदका लागि हुने निर्वाचनमा आयोगले सहभागिता बढाउन अहिले तालिमहरुसमेत सन्चालन गरिरहेको छ ।
नगरपालिका प्रमुख वा उपप्रमुख, गाउँपालिका अध्यक्ष वा उपाध्यक्षमध्ये एक अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, वडा सदस्यमा उठ्ने दुई महिलामध्ये एक दलित महिला हुनुपर्ने व्यवस्था गरिएको छ । आयोगले अहिले यही व्यवस्थाकाबारेमा राजनीतिक दलहरलाई जानकारी गराइरहेको छ ।
आयोगले निर्वाचनलाई व्यवस्थित गर्न अहिले संसदमा रहेका सबै राजनीतिक दललाई दलको चिह्न दिएरै निर्वाचनमा सहभागिता जनाउन दिनेछ भने बाँकीको हकमा स्वतन्त्र चिह्न प्रदान गर्ने भएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्