Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


नेपालमा रहेको प्रतिबन्धित भारु साटिने निश्चित, कति साटिने भन्नेमा छलफल जारी


0
Shares

आरबिआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको भारतीय टोलीले राष्ट्र बैंकका अधिकारीसँग छलफल गरिरहेको छ । आइतबारदेखि भारतीय टोलीसँग राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी सहितका अधिकारीबीच छलफल भइरहेको हो ।

यो छलफलपछि भारु साटिने करिब निश्चित हुने राष्ट्र बैंक अधिकारीले बताएका छन् । छलफलमा राष्ट्र बैंक टोली र भारतीय टोलीले नोट सटहीबारे आ–आफ्नो धारणा राखेका छन् । भारतीय टोलीले सुरुमा ४५ सयसम्म भारतीय नोट साट्ने प्रस्ताव गरेका छन् । राष्ट्र बैंक अधिकारीहरुले भने जनही २५ हजार भारुसम्म साट्नुपर्ने अडान राखेका छन् ।

डेपुटी गभर्नर सिवाकोटीले उनीहरुबाट विभिन्न प्रस्ताव आएको भन्दै निष्कर्षमा पुगि नसकेको बताए । छलफलका क्रममा केही विषय माथिल्लो निकायलाई सोध्नुपर्ने अवस्था दुबै टोलीलाई आएको उनले बताए ।

यसअघि आरबिआईबाट आएको टोलीले नोट सटहीबारे गरेको अध्ययनले नेपालमा रहेको भारु साट्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन भारतीय वित्त मन्त्रालयलाई बुझाइसकेको छ ।