
काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन ।
बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो ।
नेता पौडेलले अनुशासन समितिमा रहने व्यक्ति सर्वसम्मतरूपमा चयन नभए बैठकमा अनुपस्थित हुने अडान लिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
नेता पौडेलको अडानपछिपनि संस्थापन पक्षका सदस्य बैठककक्षमा प्रवेश गरेका थिए ।
तर, संस्थापनइतर पक्ष अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगन गरिएको थियो ।
केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले अनुशासन र निर्वाचन समिति गठनका सम्बन्धमा सहमतिका लागि थप छलफल आवश्यक रहेकाले मंगलबारको बैठक सारिएको जानकारी दिए ।
पार्टी कार्यालयले केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको छलफल भएको र थप छलफलको आवश्यकता मध्यनजर राखी मंगलबारको केन्द्रीय समिति बैठक स्थगित गरिएको जनाएको छ ।
संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई कांग्रेसमा महत्वका साथ लिइन्छ ।
समिति गठनमा दुवै पक्षले आफूअनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ ।
यसअघि, यही फागुन १२ गतेको बैठकमा पनि पार्टीको विधान संशोधनको प्रस्ताव पारित गर्दा महासमिति बैठकको भावना नसमेटिएको भन्दै नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले फरक मत राखेको थियो ।
गत मंसिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकमा अधिकांश जिल्ला सभापतिको मागबमोजिम सभापति देउवा र नेता पौडेलले पार्टी केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडास्तरबाटै निर्वाचित हुनुपर्ने र समावेशी आरक्षण एक व्यक्तिका लागि एकपटकमात्र लागू हुने प्रावधान विधानमा समेटिने आश्वासन दिएका दिए ।
फागुन १२ गतेको बैठकले उक्त प्रवधान नराखी विधान पारित गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्