
-विवेक खड्का, ईमेज
स्थानीय तहको निर्वाचन घोषणालगत्तै दाङका राजनीतिक दल, उद्योगी व्यवसायी, अधिकारकर्मी र आममतदाता उत्साहित भएका छन् ।
कर्मचारीका भरमा लामो समयदेखि चलेको स्थानीय प्रशासन अब जनप्रतिनिधिको हातमा आउने भन्दै सबै जसो खुसी देखिएका छन् ।
निर्वाचनमार्फत् स्थानीय तहको नेतृत्व लिन युवा व्यवसायी र महिला अगुवाहरुसमेत सक्रिय देखिएका छन् । आफू आबद्ध दलले अवसर दिएमा नागरिकको सेवा गर्न तयार रहेका बताउँछन् व्यवसायी जनक खराल ।
महिला अगुवा सुष्मा गिरीले पनि महिलाले नेतृत्व पाएमा अगुवाई गर्न सक्ने तर्क गर्छिन् । जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनको लागि २७ दलले दल दर्ता गराएका छन् ।
त्यसमा मधेस केन्द्रीत ८ दलसमेत सहभागी छन् । दर्ता भएका सबै दलले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारीसमेत बढाएको जनाएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जिल्लामा तयारीलाई अन्तिम चरणमा पुर्याइएको कार्यालय प्रमुख विजयकुमार केसीले जानकारी दिए ।
कार्यालयले १ सय ५१ मतदान स्थलमा ३ सयभन्दा बढी मदतान केन्द्र राख्ने तयारी गरेको छ । दाङमा स्थानीय चुनावका लागि २ लाख ९१ हजार ९ सय २१ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्