फाइल फोटो
जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनीकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी–साधनको सन्चालनमा रोक लगाएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमनाथ पोख्रेलले ‘अञ्चल यातायात व्यवस्था समितिले यसअघि नै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएकोमात्र हो’ भन्दै सडक डिभिजन कार्यालय बाग्लुङको सिफारिसअनुसार सडकको अवस्था र सुरक्षालाई ध्यानमा राखेर उक्त सडकखन्डमा ठूला प्रकृतिका सवारी–साधनको सन्चालनमा रोक लगाइएको बताए ।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखन्डमा यातायात सेवा दिँदै आएका स्थानीय व्यवसायीले बाहिरबाट आउने गाडीका कारण आफ्नो व्यवसाय धरासायी बनेको भन्दै २६ सिट क्षमताको मापदन्ड लागू गराउन दबाब दिँदै आएका थिए ।
अञ्चल यातायात व्यवस्थापन समितिको २०७१ असार १३ गते बसेको बैठकले उक्त सडकखन्डमा २६ जनासम्म सिट क्षमता भएका गाडीलाईमात्र सन्चालन गर्न दिने निर्णय गरेको थियो ।
यो मापदन्ड लागू भएपछि देशका विभिन्न ठाउँबाट मुस्ताङ जानका लागि बढी सिट क्षमता भएका गाडी ल्याएर आएका पर्यटक तथा तीर्थयात्री अहिले समस्यामा परेका छन् ।
यसअघि, अस्थायी रुट अनुमति लिएर आएका सबै प्रकृतिका गाडीलाई सहजरुपमा उक्त सडकखन्ड भएर मुस्ताङ जान–आउन दिने गरिएको थियो ।
शैक्षिक भ्रमणकाक्रममा काठमाडौंबाट मुस्ताङ जान आएका राममणि शर्माले उक्त मापदन्डका कारण आफूले ल्याएको गाडी त्यही रोकेर स्थानीय व्यवसायीको गाडी प्रयोग गर्न बाध्य भएको गुनासो गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख परशुराम जोशीले मुस्ताङबाट बेनी–जोमसोम सडकमा २६ सिटभन्दा बढी क्षमताका गाडी सन्चालन गर्न नदिने निर्देशन आएको बताए ।
पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ भ्रमणमा जाने आन्तरिक पर्यटक र तीर्थयात्रीको चाप बढे पनि यातायात सेवा असहज हुँदा यात्रीले दुःख पाएका छन् ।
म्याग्दी जिप तथा बस सन्चालक समितिका सचिव सुमन श्रेष्ठले प्रशासनको निर्देशनअनुसार आफूहरुले २६ भन्दा बढी सिट क्षमता भएका गाडी नचलाएको र बाहिरबाट आएका गाडीलाई पनि मापदन्ड लागू गराउनुपर्ने बताए ।
जोमसोमदेखि बेनी, पोखरा, काठमाडौं छुट्ने लामो दुरीका सवारी–साधनलेसमेत यही मापदन्ड पालना गरेको उनको भनाइ छ । रासस









प्रतिक्रिया दिनुहोस्