Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


महिला तस्करीमा अध्यागमन कर्मचारीको मिलेमतो : संसदीय टोली


0
Shares

                                                                                 फाइल फोटो
खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर मंगलबार स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले ‘सेटिङ’को जालो बनाएको बताएको छ ।

नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गर्न सो टोली यही चैत ५ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरिने बताए ।

उनले भने–‘त्यसरी अवधैरुपमा जानेहरु आधाभन्दा बढीले नेपालकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी गएको देखियो । बाँकीमात्रै भारत र श्रीलंका हुँदै गएको भेटियो ।’

मानवतस्करले अध्यागमनबाट बेरोकतोक पर्यटक प्रवेशाज्ञामा दुबई, कुबेत पठाउने र त्यहाँबाट साउदी अरब, कतार, ओमन पठाउने गरेको भ्रमणकोक्रममा भेटिएको उनले बताए ।

साउदीमामात्रै ३० हजारभन्दा बढी महिला अवैधरुपमा घरेलु कामदारकारुपमा गएको र अन्य मुलुकमासमेत त्यो संख्या धेरै रहेको संसदीय समितिले जनाएको छ ।

खाडीमा अवैधरुपमा घरेलु कामदारकारुपमा गएका अधिकांश महिलाले दुःख पाएको भेटिएको सभापति साहले बताए ।

चार मुलुकको दूतावासमा अस्थायीरुपमा दर्जनौं महिलालाई उद्धार गरेर राखिएको टोलीले जनाएको छ । ती महिलासँग संसदीय टोलीले छलफल गरेको थियो ।

निःशुल्क प्रवेशाज्ञा र टिकटमा जाने कोही भेटिएनन्
भ्रमणकाक्रममा चार मुलुकमा हजारभन्दा बढी कामदारसँग भेटघाट र साक्षात्कार गरेको तर तीमध्ये एकजनाले पनि निःशुल्करुपमा आफू नआएकोे संसदीय टोलीसमक्ष बताएका थिए ।

सभापति साहले भने–‘निःशुल्क टिकट र प्रवेशाज्ञा कागजमामात्रै सीमित रहेको देखियो, यसबारे पनि कडाइपूर्वक अध्ययन हुन जरुरी छ ।’

समितिका सभापति साहको नेतृत्वको टोलीमा सांसदहरु विनोद श्रेष्ठ, प्रेमकिशोरप्रसाद साह, अशोककुमार मण्डल, राज्यलक्ष्मी श्रेष्ठ, राधादेवी तिमिल्सेनासहित ९ सदस्यीय छन् ।

टोलीले ती मुलुकका सरकारी अधिकारी, नेपाली नियोगका अधिकारी, नेपाली कार्यरत् कम्पनी, नेपाली संघ–संगठन र कामदारसँग छलफल गरेको जनाएको छ । रासस