-प्रकाश धौलाकोटी, ईमेज
बस्नेतले दुग्ध परिकार उद्योग खोलेर मासिक ७० हजार रुपैयासम्म आम्दानी गर्दै आएका छन् ।
छ वर्ष मलेसिया बस्दा निकै दुःख गरेका तेह्रथुम हमरजुङ–७ का अमरकृष्ण बस्नेतले मलेसियाबाट फर्केपछि गाउँमै खेर गइरहेको दुधको सदुपयोग गर्दै छथर दुग्ध परिकार उद्योग खोलेका छन् ।
सुरुमा अन्य ४ जना साथीहरुसँग मिलेर खोलेको उद्योग उनले एक वर्षदेखि एकलौटी बनाएर चलाइरहेका छन् । उनको उद्योगमा अहिले चार जनालाई रोजगारी समेत मिलेको छ ।
बस्नेतको दुग्ध परिकार उद्योगबाट हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक करिब ७ क्विन्टल छुर्पी र ४ सय केजी बढी नौनी उत्पादन हुने गरेको छ । पनिर भने अर्डर बमोजिम मात्रै बनाइन्छ ।
बस्नेतले किसानबाट ४५ रुपैयाँका दरले दैनिक ५ सय लिटर सम्म दुध खरिद गर्छन् । उत्पादित छुर्पी र नौनीकालागि बजारको कुनै समस्या नभएको बरु माग धान्न नसकिरहेको बस्नेत बताउँछन् ।
उत्पादन भएको छुर्पी ८ सय ५० रुपैयाँ र नौनी ५ सय ५० रुपैयाँ प्रति केजीले उद्योगबाटै विक्री हुन्छ । उद्योगबाट मासिक करिब १० लाखको कारोबार गर्दा ७० हजार सम्म मुनाफा हुन्छ ।
विदेशमा भन्दा स्वदेशमा कमाएको यो पैसाले आफुलाई सन्तुष्टि मिलेको बस्नेत बताउँछन् ।
मलेसिया पुग्दा भोगेका दुःख सम्झँदै बस्नेतले आफुले भेट्ने कसैलाई पनि विदेसिने सल्लाह नदिएको बताउँछन् ।
उनले गाउँका केही राहदानी बनाइसकेका युवालाई समेत स्वदेशमै केही गर्नुपर्छ भनेर सम्झाएर कृषि पेशामा आवद्ध गराएका छन् ।
विदेशमा गर्ने दुःख स्वदेशमै गरे जे पनि गर्न सकिने विदेशिन लागेका युवाहरुलाई उनको सुझाव छ । कुनैपनि काम आफैंमा सानो या ठुलो हुदैन ।
त्यसैले बैदेशिक रोजगारीमा जाँदा लगानी गर्ने रकम स्वदेशमा कृषि क्षेत्रमै लगानी गरे पनि पैसा कमाउन विदेश जानुपर्दैन भन्ने पाठ बस्नेतबाट लिन सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्