ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा गठित यल सांस्कृतिक पर्व संरक्षण समितिले बुधबार जिल्ला समन्वय समितिको सहयोगमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बद्ध व्यक्तिहरुले सो धारणा अघि सारेका हुन् ।
जावलाखेलस्थित श्री उग्रचन्डीमाई परिसरमा आयोजना गरिएको सो अन्तरक्रिया ‘संस्कृति संरक्षणमा दीगो विकास, चुनौती र अवसर’ विषयमा भएको थियो ।
सो अवसरमा समितिका अध्यक्ष सविन श्रेष्ठले संस्कृतिलाई अर्थतन्त्र, पर्यटक उद्योग प्रर्वद्धनसँग जोडेर अघि बढाउनु संरक्षणका एक बलियो उपाय हुने धारणा राखे ।
वाणिज्य संघको अध्यक्षसमेत रहेका समितिका अध्यक्ष श्रेष्ठले पाटन दरबार क्षेत्रको लिच्छिविकालीन सम्पदा मुआगं छेँसँग सम्बन्धित कतिपय मूर्त र अमूर्त संस्कृतिहरु लोप भइसकेको र कतिपय लोप हुनेक्रममा रहेको भन्दै सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताए ।
संरक्षणका लागि सरोकारवाला र सम्बन्धित निकायबीच समन्वय गरी समाधानको मार्ग पहिल्याउन यल सांस्कृतिक पर्व संरक्षण समिति गठन गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा कार्यक्रमका संयोजक एवं ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्राकारले संघले अघि सारेको होमस्टेको अभियान संस्कृति संरक्षणको बलियो आधार हुनसक्ने बताए ।
वरिष्ठ उपाध्यक्ष ताम्राकारले उपत्यकामा घुम्न आउने पर्यटकहरुले ललितपुरमा मुस्किलले दुई घन्टा बिताउने गरेको उल्लेख गर्दै पर्यटकहरुको बसाइ लम्ब्याउन संस्कृति, पर्वहरु संरक्षण र सन्चालनले टेवा पुग्ने धारणा राखे ।
ललितपुर उद्योग वाणिज्य संघका महासचिव भरतलाल जोशीले जिल्लाको संस्कृति, सम्पदा आर्थिक विकासको महत्व आधार रहेको बताए ।
सो अवसरमा संस्कृतिबारे अध्ययन गर्दै आएका पत्रकार प्रशान्त मालीले कार्यपत्र प्रस्तुत् गर्दै संस्कृतिलाई राज्यले खासै प्राथमिकतामा नराखिएको, विनियोजित रकम अपुग, सरोकारवाला गुठीयारहरुबीच समन्वय, एकता र प्रशासनिक पहुँचको अभावमा संस्कृति संरक्षणमा समस्याहरु उत्पन्न भएको धारणा राखे ।
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको कार्यसमिति सदस्यसमेत रहेका पत्रकार मालीले संस्कृतिलाई आर्थिक विकाससँग जोड्नुपर्ने, सरोकारवालाहरु एकजुट भएर सरकारी निकायलाई घचघच्याउनुपर्ने, राष्ट्रिय लक्ष्यअनुरुप पर्यटक भित्र्याउन संस्कृति बलियो माध्यम रहेको बताए ।
कार्यपत्रप्रति आ–आफ्नो धारणा राख्दै ठेचो नवदुर्गा नाचका गुठीयार एवं नेपाल माली समाजका सचिव बसन्त मालीले सम्बन्धित गुठीयारहरुको आर्थिक अवस्था बलियो नभइकन संस्कृति जोगाउन नसकिने बताउँदै त्यसका लागि सामुदायिक होमस्टेको अवधारणा कार्यान्वयन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
मुआगं छेका प्रतिनिधि साम्राज्य श्रेष्ठ, अष्टमातृका नाच संरक्षण समितिका अध्यक्ष राजेन्द्र शाक्य, खोकना रुद्रायणी गुठीका धनबहादुर महर्जन, हौगः पायो गुठीका सन्तमान महर्जन, कार्तिक नाच संरक्षण समितिका प्रतिनिधि सञ्जय शर्माले जात्रा, पर्व सन्चालनमा बजेट अपुग, प्रशासनिक झन्झटिलो, सरकारी निकायले खासै प्राथमिकतामा नराख्नु, सम्बन्धित गुठीयारहरुको आर्थिक अवस्था सुधार्ने कार्यक्रम नल्याउनु मुख्य कारणहरु रहेकोमा केन्द्रित गर्दै आ आफ्नो अनुभव सुनाए ।
सो अवसरमा गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले गुठी संस्थानको सीमित बजेटकारण जात्रा, पर्व, संस्कृति संरक्षणमा अपेक्षाकृत कार्य गर्न नसकेको स्वीकार गर्दै सीमित बजेट सदुपयोग गर्नेबारे सरोकारवालाहरुबीच छलफल गरेर समाधानका बाटो निकाल्न सकिने बताए ।
सो अवसरमा ललितपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रवीण श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका सामाजिक विकासका अधिकृत विश्वेश्वर कोइराला, ललितपुर महानगरपालिकाका सम्पदा संरक्षण शाखाका अघिकृत चन्द्रशोभा शाक्य, गोदावरी नगरपालिकाका अधिकृत सन्तबहादुर बस्नेतले जात्रा, पर्वका सम्बन्धित गुठीयार, सरोकारवालाहरु स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सहभागी हुनुपर्ने र मागबमोजिम संस्कृति संरक्षणका लागि आवश्यक कार्यहरु गर्न तयार रहेको विषयमा केन्द्रित गर्दै आ–आफ्नो धारणा राखे ।
अन्तरक्रियाको निष्कर्ष प्रस्तुत् गर्दै नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका सचिव राजेश बज्रचार्यले सरोकारवालाहरुबीच निरन्तर छलफल गर्ने साझा मञ्चकारुपमा समितिलाई विकास गर्नुपर्ने, संस्कृति र अर्थतन्त्रलाई जोडेर अघि बढाउनुपर्ने, स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सहभागी हुनुपर्ने, सरोकारवालाहरुको क्षमता बढाउनुपर्ने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्