२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पुस्तकमा काजी जगतबहादुर लाप्चाको सम्झना


0
Shares

-प्रकाश नेपाल/ईमेज

इलाम । लाप्चा समुदायमा जन्मिएर जीवनभर समाजसेवामा विताएका काजी जगतबहादुर लाप्चाको सम्झनामा स्मृतिग्रन्थ सार्वजनिक भएको छ ।

हालै इलामको अन्तुमा आयोजित एक समारोहकाबीच ‘आथिङ–काजी जगतबहादुर लाप्चा’ स्मृतिग्रन्थको लोकार्पण गरिएको हो । अग्रणी समाजसेवी, लाप्चा जातिका लोकप्रिय व्यक्तित्व जगतबहादुर लाप्चाको स्मृतिमा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक लाप्चा समुदायको व्यक्तित्व झल्किने नेपालकै इतिहासमा पहिलो भएको दावी गरिएको छ ।

जगतबहादुरका छोराहरुको अग्रसरतामा प्रकाशन गरिएको हो । विभिन्न क्षेत्रका ब्यक्तिहरुले जगतबहादुरका बारेका लेखिएका विचार तथा लेखहरु समेटिएको पुस्तक २३२ पेजमा समेटिएको छ । स्मृतिग्रन्थको सम्पादन पत्रकार युवराज गौतमले गरेका हुन् ।

जगतबहादुरका छोरा बुद्धकाजी लाप्चाका अनुसार स्मृतिग्रन्थमा स्व.जगतबहादुरले गरेका सामाजिक सेवामूलक कार्यहरु, उनको जीवनी लगायतका पक्षहरुलाई समेटिएको छ । इलाममा मात्र बसोबास रहेको लोपोन्मुख लाप्चा जातिको देश मैं एउटा मात्र संग्रहालय इलामको अन्तुमा रहेको बताइएको  छ ।

संग्रहालयको स्थापना स्व. लाप्चाले नै गरेको बताइएको छ  । उनले आफ्नै घरमा लाप्चा जातिका विभिन्न सांस्कृतिक महत्वका  संकलन गरेर संग्रहालय जस्तै बनाएर राखेका थिए ।

स्मृतिग्रन्थलाई सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र रोङ गाउँपालिकाका अध्यक्ष समशेर राई, महेन्द्र रत्न बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा इतिहासविद युद्धप्रसाद बैद्यले सामूहिक रुपमा लोकार्पण गरेका हुन् ।

काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ प्रकाशन तथा जनक माबीको आयोजनामा भएको कार्यक्रममा प्रमुखद्वय राईलाई कदर–पत्रले सम्मान गरियो । कार्यक्रममा जगतबहादुर लाप्चाको मार्गदर्शन र इतिहासलाई जीवन्त राख्न स्मृति प्रतिष्ठानको स्थापना गरिने भएको छ ।

जगतबहादुरको सम्मान र इतिहास जोगाउनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

कतिपय बक्ताहरुले उनको सम्झनामा राजमार्ग तथा संग्रहालय साथै विभिन्न सार्वजनिक स्थलहरुको नामाकरण गरिनुपर्ने, सालिक स्थापना गरिनुपर्नेलगायतका मागहरु राखेका छन् ।