
जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरु पनि माहोल आफ्नो पक्षमा लिन वडास्तरसम्म खटिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना दल पनि निर्वाचनमा जुटिसकेका छन् ।
नेपाली कांग्रेसका जिल्लासचिव दिवाकर पाण्डेयले आफ्नो दल निर्वाचनमा उत्साहका साथ जुटिसकेको बताए । ‘हामीले पहिलो चरणमा वडास्तरका भेला सकेर थप छलफल र संवाद अगाडि बढाएका छौं,’ उनले भने, ‘यहाँका सातवटै नगरपालिका र दुईवटा गाउँपालिकामा कांग्रेस निर्वाचनका लागि तयारीमा छ ।’
सबै राजनीतिक दलले भीमदत्त नगरपालिकाको मेयरका लागि भने आफ्नो अस्तित्वको लडाइँ ठानेका छन् । कांग्रेसबाट भीमदत्त नगरपालिकामा छ÷सातजना आकाङ्क्षी देखिए पनि पार्टीले भने यसको टुङ्गो पछि लाग्ने जनाएको छ ।
त्यसैगरी नेकपा एमाले पनि स्थानीय तहको निर्वाचनका लागि चुनावी मैदानमा होमिसकेको छ । उक्त दलका जिल्ला उपसचिव तथा पार्टी प्रचार विभाग प्रमुख रणबहादुर महराले जिल्लाभर एमालेका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिसकेको बताए । ‘केन्द्र र जिल्लाको मापदण्डअनुसार पछि उम्मेदवार तय हुन्छ,’ उनले भने, ‘अहिले वडास्तरमा कार्यक्रम गर्नुका साथै कार्यालय स्थापनाहरु भइरहेका छन् ।’
त्यस्तै नेकपा माओवादी केन्द्र पनि चुनावी मैदानमा उत्रिएर प्रचारप्रसारमा जुटेको छ । उक्त दलका केन्द्रीय सदस्य गोपाल रसायलीले जिल्लाभरका सबै नगरपालिका र गाउँपालिकामा चुनावी तयारी भइरहेको बताए । ‘हाम्रा लागि स्थानीय तहको चुनाव नयाँ स्वाद हो,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्तित्वको प्रभाव बढी हुँदोरैछ ।’
केन्द्रीय सदस्य रसायलीले चैत मसान्तभित्र आफ्नो दलले मेयर, उपमेयरलगायत सबै उम्मेदवार चयन गरिसक्ने जानकारी दिए ।
चुनावी माहोल तात्दै गइरहेका बेला विभिन्न पार्टीमा नयाँ कार्यकर्ताको प्रवेशले पनि प्राथमिकता पाइरहेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनका लागि सबै भ्रातृ सङ्गठनलाई जिल्लाभर परिचालन गरिरहेको छ । उक्त दलका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले निर्वाचनका गतिविधि पार्टीले अघि बढाएको बताए । ‘महिला सङ्गठन, युवा मोर्चालगायत सबै भ्रातृ सङ्घ गठन सक्रिय गरिसकेका छौँं,’ उनले भने, ‘वडा भेला र छलफल अघि बढेका छन् ।’
राप्रपाले आगामी वैशाख ७ गतेभित्र यहाँका सबै नगरपालिका र गाउँपालिकाका उम्मेदवार तय गरिसक्ने जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्