१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


एकपटक पुग्नैपर्ने झाँक्रीपानीमा धमाधम हुँदैछ पूर्वाधार निर्माणको काम (भिडियो)


0
Shares

ध्रुवसागर शर्मा/ईमेज:

म्याग्दी, असार २१ । म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल झाँक्रीपानीमा स्थानीयवासीसँगको सक्रियतामा पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

पर्यटकलाई असहज भएको भन्दै स्थानीयबासीले पदमार्ग, भ्यूटावर र एकीकृत सामुदायिक भवनलगायतका पूर्वाधारका काम सुरु गरेका हुन् ।

म्याग्दीको मंगला गाउँपालिका ४ मा अवस्थित झाँक्रीपानी भन्ने स्थानको आफ्नै ऐतिहासिक कथा छ  ।

प्राचीनकालीन झाँक्रीको बसोबास रहेको यस ठाउँमा पानीको हाहाकार भएपछि मूल झाँक्रीले तान्त्रिकविधिद्वारा पूजा गरी पानी निकालेको किंवदन्ती भेटिन्छ ।

सोही कारणबाट नै यस ठाउँलाई झाक्रीपानी भन्न थालिएको हो । पहिले पहिले झाँक्रीको बसोबास रहेको भएपनि अहिले भने प्रायः मगरहरुकै बसोबास छ ।

जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र मानिने यस ठाउँबाट म्याग्दी पर्वत कास्की र  बागलुङका विभिन्न गाउँको दृश्यका साथै धौलागिरीलगायतका ८ हिमशृंखलाको मनमोहक दृश्य देख्न सकिन्छ ।

हिमशृंखलाको सेताम्य दृश्य विभिन्न प्राकृतिक सौन्दर्यका छटाले भरिएको सुन्दरताले जोकोहीलाई आकर्षण गर्छ तर भौगोलिक कठिनाइ र पूर्वाधारको विकास नहुँदा धेरै पर्यटक आकर्षित हुन सकेका छैनन् ।

सोचेअनुसार पर्यटक नआएपछि पूर्वाधार निर्माणमा स्थानीयले चासो देखाएका छन् ।

मंगला गाउँपालिकाको क्रमागत योजना अनुसार अहिले ३ लाख रुपैयाँबाट भ्यूटावर निर्माणको काम सुरु गरेको झाँक्रीपानी भ्यूटावर निर्माण समितिका अध्यक्ष सोमबहादुर रोकाले बताए ।

अहिले झाँक्रीपानीमा भ्यूटावर सहित एकिकृत भवन निर्माणाधिन अवस्थामा छ ।

झाँक्रीपानी प्रवेशद्वारदेखि भ्यूटावर राखिने स्थानसम्म पुग्ने पदमार्गमा सोलिङ गरिएको छ भने वरिपरि तारजाली लगाउने योजना छ ।

एकिकृत सामुदायिक भवनका लागि गाउँपालिकाबाट चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन भएको छ ।

प्र्राकृतिक सौन्दर्यतामा रमाउँदै, हिमालको दृश्यावलोकनका लागि यो ठाउँ अत्यन्त उपयोगी रहेको पहिलो पटक झाँक्रीपानीमा पुगेका पर्यटक विजय थापाको अनुभव छ ।

यस्ता पर्यटकीय संभावनाका कैयौँ ठाउँहरु पूर्वाधार विकास नहुँदा पर्यटकीय क्षेत्रको रुपमा अगाडि आउन सकेका छैनन् ।

प्रकृतिले सौन्दर्यको भण्डार दिएपनि व्यवस्थित र प्रचारप्रसार गर्न नसक्दा त्यस्ता ठाउँ गुमनाम जस्तै बन्न पुगेका छन् ।

पर्यटन प्रवद्र्धन गरी आर्थिक क्रियाकलापलाई फस्टाउने यस्ता स्रोततिर स्थानीयवासीसँगै सरोकारवालाले पनि नजर पुर्‍याउदा राम्रै हुने थियो ।