२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


बम विस्फोट गराउने समूहप्रति सरकारको नीति अझै अस्पष्ट


0
Shares

काठमाडौं, फागुन १३ । हत्या, हिंसाको लामो शृंखलाबाट केही राहतको सास फेरेको मुलुकमा गत शुक्रबार ललितपुरको नख्खुमा एकजनाको ज्यान जानेगरी भएको विस्फोटले फेरि एकपटक जनमानसमा आतंक सिर्जना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता बुधबार प्रदेश नम्बर–७ को संसदलाई सम्बोधन गर्नेक्रममा ‘विप्लव’ माओवादीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको बताउँदै धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीको यो भनाइबाट के थाहा हुन्छ भने विप्लव माओवादीका गतिविधि ठीक छैनन् र सरकारलाई यसको जानकारी छ ।

तर, प्रधानमन्त्रीले चेतावनी दिएको ठीक दुई दिनपछि ललितपुरस्थित कार्यालयसहित देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरहरुमा बम विस्फोट तथा आगजनी भयो ।

विस्फोटमा परी एकजनाको ज्यानसमेत गएको छ । यो घटना कसले गराएको भन्ने अन्योलकाबीच सबैको शंका भने विप्लव माओवादीमाथि नै थियो ।

र, विप्लव माओवादीले पार्टीगतरुपमा औपचारिक जिम्मा नलिएपनि सो पार्टीका नेताहरुले विस्फोट आफूहरुले गराएको बताइसकेका छन् ।

घटनाको पर्सीपल्ट यही आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले पनि विप्लव समूहले व्यक्तिको ज्यान जानेगरी विस्फोटको घटना गराएको बताए ।

प्रधानमन्त्री र संघीय सरकारका गृहमन्त्रीले नै विप्लव समूहका गतिविधि थाहा पाइसकेपछि अब उनीहरुमाथि कारबाही गर्ने विषयमा कत्तिपनि द्विविधा पाल्नुहुँदैन ।

प्रहरीले विस्फोटमा संलग्न रहेको आशंकामा केही व्यक्तिहरुलाई पक्राउपनि गरेको छ । तर, विस्फोटमा प्रत्यक्ष संलग्न व्यक्तिहरुमाथिमात्रै कारबाही गरेर यस्ता घटनाहरु निस्तेज हुँदैनन् भन्ने कुरा सरकारले बुझ्नु जरुरी छ ।

प्रधानमन्त्री र गृहमन्त्रीले नै यति गम्भीरतापूर्वक उठाएको र सर्वसाधारणलाई आतंकित गर्ने आपराधिक घटना गराउन निर्देशन दिने नेतृत्व तह र सो पार्टीका गतिविधिमाथि जति गम्भीरतापूर्वक कडाइ गर्नुपर्ने हो, त्यसको तदारुकता देखाएको पाइँदैन ।

सरकारले गठन गरेको वार्ताटोलीको सम्पर्कमासमेत नआएका विप्लवको पार्टीका गतिविधि भने देशैभर सन्चालित छन् ।

सरकारले विप्लवलाई नभेटेको हो वा विगतमाजस्तै राजनीतिक गतिविधि भनेर छुट दिइरहेको हो ? यसको चित्तबुझ्दो जवाफ आएको छैन ।

तर, शक्तिशाली सरकारले ज्यान जानेसम्मको आततायी घटनालाई सामान्यरुपमा लिँदै जाने हो भने यस्ता घटना अझै बढ्नेछन् ।

यस्ता घटनाले एकातिर देशमा लगानीको वातावरण बिगार्नेछ भने अर्कोतर्फ विगतदेखि जरा गाड्दै आएको हत्या, हिंसाको राजनीतिले प्रश्रय पाउनेछ ।

विगतका हत्या, हिंसाका घटनाका दोषीलाई हालसम्म कारबाही नहुँदा त्यो पद्दति बन्ने खतरा बढेको छ भने अर्कोतर्फ सरकारप्रतिको विश्वास गुम्ने सम्भावनापनि उत्तिकै छ ।

यसकारण प्रधानमन्त्री र गृहमन्त्री दुवैको जानकारीमा आएको बम विस्फोट र ज्यान लिनेसम्मको अपराधमा संलग्न पार्टी र त्यसका नेतृतवका गतिविधिलाई तत्कालै नियन्त्रणमा लिइ दोषीमाथि कारबाही गर्नसक्नुपर्छ ।

भिडियो हेर्नुहोस्