
काठमााडौं, असार ५ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सुरक्षा स्वार्थ जोडिएका सहायता नस्वीकार्ने बचन चीनलाई दिएका छन् ।
शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्स बैठकमा दाहालले सुरक्षा स्वार्थ र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने प्रतिवद्धता जनाएका हुन् ।
नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार्ने चिनियाँ नेतृत्वसमक्ष बचनवद्धता व्यक्त गर्दै दाहालले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छ । नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं ।’
नेकपाभित्र अमेरिकाले दिन लागेको ५५ अर्ब रुपैयाँको अमेरिकी सहयोग परियोजना (एमसिसी) स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा तीब्र विवाद भइरहेका बेला दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासमक्ष प्रतिवद्धता जनाएका हुन् ।
दाहालले चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ्समा हस्ताक्षर गरेपछि दुई देशको विभिन्न तहमा भएको सहकार्यप्रति खुशी पनि व्यक्त गरेको जनाइएको छ ।
यसअघि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा नेकपा नेताहरू पार्टी कार्यालय धुम्बाराहीबाट सहभागी भएका थिए । करिब दुई घन्टा चलेको छलफलमा नेपाल–चीन सम्बन्ध, दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
चीनका तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमख सुन ताओ र तिब्बत कमिटीका सचिव यु याङजेले धारणा राखेका थिए । चिनियाँ कम्युनिष्ट नेताहरुले नेपालले सधैँ एक चीन नीतिप्रति साथ दिएकोमा प्रशंसा गर्दै कोरोना महामारीविरूद्ध लड्न चीनले नेपाललाई आवश्यक सहयोग गर्ने बताएका थिए । हिमालय क्षेत्रको अन्तरदेशीय सम्पर्क सञ्जाल बनाउन दुबै देश मिलेर काम गर्न उनीहरुले प्रस्ताव गरेका थिए ।
नेकपाका तर्फबाट अध्यक्ष दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्