
यज्ञराज पाण्डे (इमेज)
काठमाडौं, असार ५ । ‘एमसीसी’ सम्झौताले सत्तारुढ दल नेकपाभित्र ठूलै ‘आँधी’ ल्याउने संकेत देखिन थालेको छ ।
सम्झौता अनुमोदनको अवधि सकिन १० दिन बाँकी रहँदा संसदबाट अनुमोदन गर्ने/नगर्ने विषयमा फेरि नेताहरूबीच ध्रुवीकरण सुरु भएको छ ।
यसैलाई अस्त्र बनाएर नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दीमा पारेर सरकारबाट हटाउनेसम्मको तयारी भइरहेको विश्लेषण हुन थालेको छ ।
नेकपाले एमसीसी सम्झौता अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल नै बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदनसमेत बुझाइसकेको छ ।
तर, बुधबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा सुधारको आवाज उठाउनेहरुलाई नपढी–नबुझी हावाको भरमा अभिव्यक्ति दिएको अरोप लगाए ।
प्रधानमन्त्री ओली आफैंले अध्ययन कार्यदल बनाउन सहमति जनाएका थिए ।
तर, आफूले भनेजस्तो प्रतिवेदन नआएपछि आलोचना गर्नेजति सबैलाई उनले अनपढ र अबुझको आरोप लगाए ।
अध्ययन कार्यदलका संयोजक खनाल भने प्रधानमन्त्रीको एकलौटी निर्णय हावी हुँदा पार्टीमा खतरा निम्तिन सक्ने संकेत गर्छन् ।
त्यसो त एमसीसी पारित गराउनुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री ओली संसदमा कांग्रेसको साथ लिएर भएपनि पेलेरै लाने अडानमा देखिएका छन् भने पार्टीमा ओली इतर पक्षबाट एमसीसीबारे स्थायी समितिबाटै छलफल गरेर विवादास्पद बुँदा सच्याएरमात्रै संसदमा प्रवेश गराउनुपर्ने अडान राखिएको छ ।
पार्टी सचिवालयमा समेत अल्पमतमा परेकाले प्रधानमन्त्री ओलीले सचिवालय बैठकसमेत टार्दै आएका छन् ।
पछिल्लो समय त पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू ओलीको साथमा नरहेकोसमेत प्रस्ट पारिसकेका छन् ।
एमसीसीको बहस चुलिँदै गर्दा पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओलीका लागि एमसीसी निल्नु न ओकल्नु बनेको छ ।
१५ असारभित्र एमसीसी संसदबाट पारित गराउने प्रधानमन्त्री ओलीको जोडबल र त्यसलाई कसैगरी रोक्ने र आखिरी परे यही अस्त्र प्रयोग गरेर ओलीलाई अप्ठेरोमा पार्ने योजनामा रहेको ओली इतर पक्षका कारण नेकपामा आँधी आउने सम्भावना बढ्दै गएको छ । यसको सामना गर्न ओलीलाई पनि हम्मे–हम्मे पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्