Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


मतदाता नामावली आइतबारदेखि मुद्रण हुने


0
Shares

निर्वाचनमा खटिने चारओटै सुरक्षा निकायका अधिकृतका लागि सन्चालन गरिएको निर्वाचन र सुरक्षा विषयको प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सो कुराको जानकारी दिएका हुन् ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा करिब एक करोड ४० लाख मतदाताको नाम संकलन भएको आयोगले जनाएको छ ।

मतदाता नामावलीको सूची आगामी वैशाख १० गतेभित्र सबै जिल्लामा पुर्‍याइसक्ने गरी आयोगले काम गर्ने जनाइएको छ ।

त्यस्तै, अबको एक/दुईदिनभित्रै स्थानीय तहको निर्वाचनमा खटिने ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना निर्वाचन अधिकृत नियुक्त हुने जनाइएको छ ।

प्रमुख आयुक्त डा. यादवले भने–‘आयोग निर्वाचनको पूर्ण तयारीमा जुटेको छ । जनशक्ति सुरक्षाको व्यवस्थापन गर्ने, आवश्यक सामग्री जुटाउने र तालिम प्रशिक्षण दिने काम आयोगले गर्दैछ ।’

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग पुर्‍याउन सबै पक्षसँग आग्रह गर्दै उनले निर्वाचनको सन्दर्भमा अहिले ज्यादै उत्साहजनक वातावरण बनेको बताए ।

आयुक्त सुधीरकुमार शाहले आगामी निर्वाचनमा मतदाता, उम्मेदवार, खटिने कर्मचारी र मतगणनास्थलसम्मका लागि कम्तीमा पनि सुरक्षाको मनोवैज्ञानिक वातावरण तयार गर्न सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिलाई निर्देशन दिए ।

स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायकोसमेत उच्च मनोबल देखिएको बताउँदै उनले राजनीतिक दलहरुबीचको सहमतिको गाँठो नफुके पनि तोकिएको मितिमा एकैदिन एकै चरणमा मतदान गराएर आयोग आफ्नो विश्वसनीयता कायम राख्न सक्षम हुने दाबी गरे ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रशिक्षणबाट सुरक्षा संयन्त्रबीचमा साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले निर्वाचनकाबेला सुरक्षामा खटिने सुरक्षाकर्मीबीच आपसी समन्वय कायम गर्न प्रशिक्षणबाट ठूलो योगदान मिल्ने धारणा व्यक्त गरे ।

आयोगका सहसचिव नवराज ढकालले स्थानीय निकायको निर्वाचनसँग जोडेर आयोगले निर्वाचन–सन्चार, मतदाता प्रशिक्षण, जिन्सी व्यवस्थापन, निर्वाचन र सुरक्षाजस्ता केन्द्रीयस्तरका प्रशिक्षण सम्पन्न गरिसकेको बताए ।

निर्वाचनका लागि कुल एक लाख २६ हजार कर्मचारी र मतदाता शिक्षाका लागि २१ हजार स्वयंसेवी खटाउने आयोगको योजना छ । रासस