
रविन भट्टराई
झापा, फागुन १३ । झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका २२ बालबालिका कक्षाकोठा व्यवस्थापन नहुँदा समस्यामा परेका छन् ।
एकातिर कक्षाकोठामा ठेलमठेल गरेर बस्नुपर्ने बाध्यता र अर्कोतिर शिक्षक शिक्षिकाको समेत अभाव हुँदा पठनपाठन अव्यवस्थित भएको हो ।
विद्यालयमा फरक क्षमता भएका बालबालिका रहेका दुईओटा कक्षालाई एउटै कोठामा सञ्चालन गरिएको छ । एउटै कोठामा दुईओटा कक्षा सञ्चालन गर्नुपर्दा बालबालिकालाई त समस्या भएको छ नै, साथमा शिक्षकहरु पनि हैरान भएका छन् ।
दिनभर कोचिएर पढ्ने ती २२ जना विद्यार्थीलाई रातको समय पनि उत्तिकै समस्या छ । राति सुतिरहेको समयमा पानी पर्यो भने उनीहरु राम्रोसँग निदाउन पाउँदैनन् । ०२४ सालमा स्थापना भएको यस विद्यालयमा ०५२ सालदेखि फरक क्षमता भएका बालबालिकालाई अध्यापन गराउन थालिएको हो ।
विद्यालयको व्यवस्थापनको लागि स्थानीय जनप्रतिनिधिले समेत चासो नदिएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ बताउँछन् ।
सरकारले उनीहरुका लागि प्रतिवर्ष ४ हजार रुपैयाँमात्रै उपलब्ध गराउँदै आएको छ । जुन एकदमै अपर्याप्त भएको छ । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर र इलामका २२ जना फरक क्षमता भएका विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
शिक्षणका लागि अपाङ्गमैत्री सामान र पाठ्यसामग्री आवश्यक पर्ने भए पनि साधारण शिक्षाको पाठ्यक्रमलाई साङ्केतिक भाषाबाट सिकाउनु बाहेकको बिकल्प नभएको शिक्षिका सिर्जना पौडेलको गुनासो छ ।
आवास र कक्षाको अभाव त छँदै छ त्यसका अलावा उनीहरुलाई पढाउने शिक्षकको समेत अभाव छ । जहाँ विद्यार्थीलाई जम्मा दुई जना शिक्षक/शिक्षिकाले अध्यापन गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्