Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


‘चैतेदसैं मनाउने एकगेडा चामल छैन’


0
Shares

बारेकोटमा सडक सञ्जालले नछोएका कारण खच्चडमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ ।

अहिलेसम्म करिब पाँच सय क्विन्टल खाद्यान्न बारेकोटमा पुर्‍याएपनि खच्चड व्यवसायीलाई ढुवानी गरेबापत ठेकेदार बस्नेतले रकम नदिँदा ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान जाजरकोटका धर्मबहादुर बस्नेतले बताए ।

चामल ढुवानी गर्न पटक–पटक बस्नेतलाई आग्रह गर्दा पनि उनी सम्पर्कमा नआउँदा बारेकोटमा खाद्यान्न पुर्‍याउन मुस्किल भएको शाखा प्रमुख बस्नेतको भनाइ छ ।

करिब २४ हजार जनसंख्या रहेको बारेकोट गाउँपालिकामा सरकारले एक हजार क्विन्टलमात्र चामलको कोटा स्वीकृत गरेको छ ।

सरकारी भाडाअनुसार सदरमुकामबाट एक हजार ८५१ रुपैयाँमा प्रतिक्विन्टल चामल खच्चडमा ढुवानी गरी बारेकोटको घाटमा पुर्‍याएर उसिना मोटा प्रतिकिलो रु ४० रुपैयाँ र मकवानपुर प्रतिकिलो रु ३१ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

बारेकोटको जनसंख्याभन्दा निकै कम मात्रामा खाद्यान सरकारले पठाउँदा जतिपटक चामल लिएपनि लुछाचुडी हुने गरेको घाट डिपोका कर्मचारी दीपक अर्यालले बताए ।

बजारमा पाइने निकै कम गुणस्तरको चामल पनि प्रतिकिलो ६० रुपैयाँभन्दा बढी तिर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे ।

बारेकोटमा धानखेती अत्यन्तै कम हुने भएका कारण खाद्य संस्थानको चामलमा नै यहाँका बासिन्दा भरपर्ने गर्दछन् ।

‘चामल आयो कि आएन भनेर दैनिक सयांै फोन आउँछन् । तर, कतिपटक छिट्टै आउँछ भनेर जवाफ दिनुपर्छ’–आर्यालले दुखेसो पोखे ।

‘चैतेदसैं मुखैमा आएको छ, हाम्रो घरमा दसैं मनाउने एकगेडा चामल छैन, डिपोमा आऔं, चामल पाइँदैन, कसरी चैतेदसैं मनाउने ?’ स्थानीय प्रश्न गर्छन् ।

भौगोलिकरुपमा अत्यन्तै विकट रहेको यो क्षेत्र जुम्लाको सिमानासँग जोडिएको छ । सदरमुकामबाट घाटस्थित डिपोमा पुग्न दुई दिन लाग्छ ।

यसबारे ठेकेदार बस्नेतसँग पटक–पटक टेलिफोन गर्न खोज्दा पनि फोन नउठाएका कारण सम्पर्क हुन सकेन ।

नलसिंह गाड जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण गर्नका लागि सडक निर्माणकार्य जारी रहेकाले खाद्यान्नलगायतका अतिआवश्यकीय वस्तु ढुवानीमासमेत निकै समस्या भएको स्थानीय खच्चड व्यवसायी कमल खत्रीले बताए । रासस