
१९ वर्षपछाडि हुन लागेको निर्वाचनमा स्थानीय तहमा प्रमुख तथा उपप्रमुख बन्ने दाउमा सबैजसो पार्टीका नेता तथा कार्यकर्ता होमिएका छन् ।
स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर यहाँका राजनीतिक दलले विभिन्न किसिमका अभियानलाई तीव्र पारिरहेका छन् ।
सरकारले आगामी वैशाख ३१ गते निर्वाचनको कार्यतालिका घोषणा गरेपछि निर्वाचन कार्यालय निर्वाचनसम्बन्धी तयारीमा जुटेको छ भने दल दलहरु नाफा घाटाको जोडघटाउमा लागेका छन् ।
दलहरु आफ्नो पक्षमा माहोल बनाउनमात्र केन्द्रित नभइ एकअर्का पार्टीका कार्यकर्ता पनि आफ्नो पार्टीमा ल्याउने होडमा छन् ।
रूपन्देहीको सदरमुकाम रहेको सिद्धार्थनगर नगरपालिकाको मेयर बन्ने धेरैले इच्छा प्रकट गरेका छन् ।
चुनावको मिति नजिकिँदै गर्दा सिद्धार्थनगर नगरपालिकाको मेयरका लागि एक दर्जनभन्दा बढी आकांक्षी देखापरेका छन् ।
त्यसमा पनि नेपाली कांग्रेस र नेकपा एमालेबाट टिकट लिएर मेयरको उम्मेदवारीमा भिड्न चाहनेको संख्या बढी देखिएको छ ।
कांग्रेसले यतिबेला सिद्धार्थनगरका विभिन्न वडाको वडाभेला गरिरहेको छ । एमालेले पनि वडाभेला गर्ने तयारी गरिरहेको छ ।
यस्तै, माओवादी केन्द्र र राप्रपालगायत दलले पनि वडाभेला गरिरहेका छन् । मधेसी मोर्चासम्बद्ध दलले भने वडाभेलालाई त्यति प्राथमिकता नदिएपनि भित्रभित्रै चुनावी तयारीमा जुटेका स्रोतको दाबी छ ।
यद्यपि, उनीहरूले केन्द्रीय निर्णयबमोजिम संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बताएका छन् ।
सिद्धार्थनगरमा मुख्यतः कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने धरैले अड्कल गरेका छन् । दुबै पार्टीको तानातानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि रहेको बुझिएको छ ।
मोर्चा चुनावमा भाग लिएको खन्डमा मोर्चाको उम्मेदवार पनि सिद्धार्थनगरको मेयरका लागि मुख्य दाबेदारमा आउने बुझिएको छ ।
कांग्रेसबाट मेयरका लागि जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, निवर्तमान नगर सभापति सुरेन्द्रजंग थापा, जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, सिद्धार्थनगर सभापति दिलीप धिताल, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ र महासमिति सदस्य गोपालमान राजभण्डारीलगायतको नाम चर्चामा रहेको छ ।
यस्तै, एमालेबाट जिल्ला कमिटी सदस्य हरिप्रसाद अधिकारी, हितराज पन्थी, जीवलाल अर्याल, उमा काफ्ले, पूर्वउपसचिव राजेन्द्रप्रसाद पन्थी, डा. रामप्रसाद बस्याल र पुष्पाञ्जली उपाध्यायको नाम चर्चामा छ ।
नेकपा माओवादी केन्द्रबाट उमेश खनाल, मनिषकुमार जोशी र फैजअहमद खान र राप्रपाबाट जिल्ला अध्यक्ष सागरप्रताप राणाको नाम चर्चामा छ ।
उम्मेदवार मनोनयनको एक महिना बाँकी रहँदा सिद्धार्थनगरको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताले आ–आफ्नो पार्टीभित्र लबिङ तीव्र पारेका छन् ।
१३ वडा रहेको नगरपालिकामा ३३ हजार ६ सय १५ जना मतदाता रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्