
-दीपक घिमिरे/ ईमेज
१९ वर्ष पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनमा प्रमुख तथा उपप्रमुख बन्ने प्रयासमाा सबैजसो पार्टीका नेता तथा कार्यकर्ता होमिएका छन् ।
स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर रुपन्देहीका राजनीतिक दलले विभिन्न अभियानलाई तीव्र पारिरहेका छन् ।
आगामी वैशाख ३१ गतेको निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलका सम्भावित उम्मेदवार प्रचारप्रसारमा लागिसकेका छन् ।
दलहरूले आफ्नो पक्षमा माहोल बनाउन अर्को दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने होडबाजी नै सुरु गरेका छन् ।
यसैगरी जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचनको तयारी तिव्र पारेको छ । निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले निर्वाचनसम्बन्धी तयारी तिव्रताका साथ भइरहेका बताए ।
रूपन्देहीको सदरमुकाम रहेको सिद्धार्थनगर नगरपालिकाको मेयर बन्न धेरैले ईच्छा प्रकट गरेका छन् ।
चुनावको मिति नजिकिँदै गर्दा सिद्धार्थनगर नगरपालिकाको मेयरका लागि दर्जनभन्दा बढी आकांक्षी देखा परेका छन् ।
त्यसमा पनि नेपाली काँग्रेस र नेकपा एमालेबाट टिकट लिएर मेयरमा भिड्न चाहनेको संख्या बढी छ ।
कांग्रेसले उम्मेदवार छान्न सिद्धार्थनगरमा नगर भेला तथा विभिन्न वडाको वडा भेला गरिरहेको छ ।
एमालेले पनि विभिन्न वडामा चुनावी रणनीतिमा आधारित कार्यक्रम गरिरहेको छ । यस्तै माओवादी केन्द्र र राप्रपालगायतका दलले पनि वडा भेला गरिरहेका छन् ।
मधेसी मोर्चा सम्बद्ध दलहरूले भने वडा भेलालाई प्राथमिकता नदिए पनि भित्रभित्रै चुनावी तयारीमा जुटेका छन् ।
सिद्धार्थनगरमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने धेरैले बताउने गरेका छन् ।
दुवै पार्टीको पछिपछि राष्ट्रिय प्रजातन्त्र पार्टी पनि रहेको नगरबासीहरुको भनाइ छ ।
रुपन्देहीको पर्यटन विकास, स्थानीयको जनजिविका र रोजगारी सिर्जना गर्न सक्ने, अर्थको विश्लेशष गर्न सक्ने, समग्र नगरको विकासमा टेवा पुर्याउन सक्ने योग्य, दक्ष र विकासप्रेमी व्यक्तिलाई निर्वाचित गर्नुपर्ने स्थानीयको भनाइ छ ।
उम्मेदवार मनोनयनको एक महिना बाँकी रहँदा सिद्धार्थनगरको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताहरूले आ-आफ्नो पार्टीभित्र लबिङ तीब्र पारेका छन् ।
१३ वडा र ३३ हजार ६ सय १५ जना मतदाता रहेको यो नगरपालिकामा कसले बाजी मार्ने हो भन्ने हेर्नका लागि आगामी वैशाख ३१ गते नै कुर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्