२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


मेचीनगरको मेयरमा को–को छन् दाबेदार ?


0
Shares

वैशाख १६ गते उम्मेदवारको मनोनयन हुने र वैशाख ३१ गते मतदान हुने गरी निर्वाचन आयोगले चुनावी कार्यतालिका पहिल्यै सार्वजनिक गरिसकेको हुँदा यतिबेला झापा चुनावी उत्सवमा होमिइसकेको छ ।

यो चुनावी उत्सवको माहोलबाट एक लाख ११ हजार सात सय ९७ जनसंख्या भएको सुदूरपूर्वको मेचीनगर नगरपालिका पनि क्रमशः तात्दै गएको छ ।

चुनावको मुख्य सारथी राजनीतिक दलले टोलटोलसम्म कार्यकर्ताको भेला र बैठकलाई घनिभूत तुल्याउन थालिसकेका छन् भने सम्भावित उम्मेदवारको नाम सामाजिक सञ्जाल र चियागफमासमेत चर्चाको विषय बन्न थालिसकेको छ ।

चुनावमा कसले जित्ला र कसको जनाधार कति छ भन्नेतिरभन्दा पनि यतिबेला कस्ता अनुहार भोट माग्दै आऊलान् भन्नेतिर आम नगरवासीको चासो बढ्दै गएको देखिन्छ ।

लामो अवधिपछि र राज्यको नयाँ पुनःसंरचनाबमोजिम अधिकारसम्पन्न स्थानीय सरकारकै स्वरुपमा हुन लागेको चुनावमार्फत् नगरसत्ताको नेतृत्व लिन दल तथा नेताको दौडधूप स्वाभाविकै लाग्छ । चुनावमा दल वा स्वतन्त्र माध्यमबाट उम्मेदवारी दिन पाइन्छ ।

झापामा ३१ दल दर्ता छन् र मेचीनगरमा एक दर्जनभन्दा बढी दल कुनै न कुनैरुपमा क्रियाशील छन् । ती दलमध्ये मेयरमा थुप्रै महिला आकांक्षी छन् ।

तर, अधिकांश दललाई तपाइँको पार्टीबाट महिला मेयरका आकांक्षी को–को छन् ? भनेर राससले सोधेको प्रश्नमा उनीहरु महिला मेयरको नाम लिनै चाहँदैनन्, फटाफट पुरुषको नाम बताउँछन् ।

नयाँ सोच र नयाँ दृष्टिकोणका साथ राजनीतिमा होमिएको बताउने नयाँ शक्ति पार्टीले मेचीनगरमा मेयरमा महिलालाई उम्मेदवार बनाउने बलियो सम्भावना छ ।

यदि यो पार्टीले मेयरको उम्मेदवार महिलालाई बनाउने निश्चित भएमा पनिता ढकाल पर्ने पक्कापक्की छ ।

आसन्न चुनावमा मेचीनगरको मेयर पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारको टिकटका दाबेदार विमल आचार्य र राम कट्टेल रहेका छन् ।

आचार्य पार्टीको जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भइसकेका सामाजिक व्यक्तित्व हुन् । कट्टेल पार्टीका जिल्ला उपाध्यक्ष तथा मेची अञ्चल अस्पताल विकास समितिका अध्यक्षसमेत हुन् ।

ठूलो जनाधार भएको कांग्रेसमा उपमेयरको टिकट महिलालाइ जाने निश्चित छ ।

मेयर वा उपमेयर एक पदमा महिला अनिवार्य उम्मेदवार बनाउने कानुनी बाध्यता भएकाले पार्टीका तर्फबाट मेयरमा पुरुषको चर्चामात्रै भएकाले महिलालाई उपमेयरको उम्मेदवार बनाउने पार्टीको तयारी देखिन्छ ।

त्यसैगरी, नेकपा एमालेबाट विष्णु प्रसाइँ र गोपाल बुढाथोकी मेचीनगरको मेयर पदको उम्मेदवारका दाबेदार हुन् ।

प्रसाइँ झापा जिविसको उपसभापति भइसकेको र पहिलो संविधानसभाको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनिसकेको व्यक्ति हुन् ।

बुढाथोकी पार्टीको जिल्ला सचिवालय सदस्य, क्षेत्रीय इन्चार्जलगायत विभिन्न जिम्मेवारीमा छन् ।

यसैगरी, उपमेयरमा एमालेले पनि कांग्रेसकैजस्तो महिलालाई उम्मेदवार बनाउने नीति अख्तियार गरेको देखिन्छ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रले मेचीनगरको चुनावमा काँकडभिट्टाका क्याम्पस प्रमुख यज्ञराज प्रसाइँ, प्रखर आदिवासी नेता हंसलाल राजवंशी र युवानेता प्रकाश भण्डारीमध्ये एकजनालाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ । यहाँ पनि महिलालाई उपमेयरको टिकट भागमा पर्ने निश्चित छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा अशोक सुब्बा र उपमेयरमा सविना बजगाइँलाई उम्मेदवार चुनिसकेको छ ।

अन्य साना दल पनि यतिबेला उम्मेदवार छान्ने काममा जुटिरहेका छन् ।रासस