Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


नेपाली पर्यटनको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा प्रचार–प्रसार गर्ने समझदारी


0
Shares

यसका लागि नेपाल पर्यटन बोर्डले बीबीसी वर्ल्ड, ट्रिपएडभाइजर र रोयटर्ससँग समझदारी गरेको हो ।

यसबाट भूकम्पकाबेला ‘अतिरन्जित प्रचार’ले बिगारेको छवी सुधार्न सघाऊ पुग्ने विश्वास गरिएको छ ।

सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा बोर्डका तर्फबाट कार्यकारी प्रमुख दीपकराज जोशी र उक्त सन्चारमाध्यमका प्रतिनिधिहरुले समझारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

गत वर्षको भूकम्पकाबेला अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले नेपाल नै ध्वस्त भएझैं गरी प्रचार गरेर अन्तर्राष्ट्रियजगतमा नेपालको छवी नै बिगारिदिएकाले त्यसलाई चिर्न ‘गन्तब्य नेपाल प्रवद्र्धन कार्यक्रम’ सन्चालन गर्न लागिएको हो ।

बोर्डका प्रमुख कार्यकारी जोशीले कृषि, जलविद्युत् र पर्यटन नेपालको आर्थिक विकासका सबैभन्दा महत्वपूर्ण क्षेत्र भएपनि पर्यटनबाट अझै छिटै देश र जनताले लाभ प्राप्त गर्ने भन्दै नेपालको नकारात्मक छवीलाई सकारात्मक बनाएर पर्यटन प्रवद्र्धन गर्न साझेदारी गरिएको बताए ।

पर्यटनसचिव शंकर अधिकारीले ठूलो पहुँच भएका यी सन्चारमाध्यमसँगको समझदारीले पर्यटन प्रवद्र्धनमा पक्कै पनि प्रभाव पर्ने विश्वास व्यक्त गर्दै आन्तरिक संरचना र सेवामा सुधार पनि अपरिहार्य रहेको बताए ।

भैरहवा विमानस्थल निर्माणसँगै एअर कनेक्टिभिटीकोे समस्यामा केही राहत पुग्ने पनि उनले उल्लेख गरे ।

यी सन्चारमाध्यममा १० करोड रुपैयाँ बराबर खर्च गरेर ३ देखि ६ महिनासम्मका प्रवद्र्धनात्मक कार्यक्रम सन्चालन गरिन लागेको हो ।

रोयटर्सका दक्षिण एसिया क्षेत्र प्रमुख एसएन भादुडीले ‘भूकम्प गएको ३ महिनामा नेपाल आउँदा नेपालको पर्यटन पूर्वाधार केही बाँकी छैन होला भन्ने परेकोमा केही हुँदै नभएको पाउँदा आफू छक्कै परेको’ उल्लेख गरे ।

बोर्डसँगको सहकार्यमा आफूहरुले नेपाली पर्यटनको सकारात्मक प्रचारमा सक्दो सहयोग गर्ने उनीहरुले बताएका छन् ।