Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


भैरहवा विमानस्थलको निर्माणकार्य पुनः सुरु, चिनियाँ कम्पनी आफैंले काम थाल्यो


0
Shares

विमानस्थल निर्माणकार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सबकन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माणकार्य आइतबारदेखि सन्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाकारूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन आफैंले काम सुरु गरेको आयोजनाका निर्देशक एवं प्रमुख ओम शर्माले जानकारी दिए ।

‘चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण विगत १५ दिनदेखि रोकिएको विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले अहिले आफैं सुरु गरेको छ’–आयोजना प्रमुख शर्माले भने–‘तोकिएकै समय–सीमाभित्र विमानस्थलको निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन आयोजनाले सोमबार चिनियाँ कम्पनीलाई चिट्ठी काटेको छ ।’

आयोजना प्रमुख शर्माकाअनुसार चिनियाँ कम्पनी आफैंले अहिले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र अग्नि नियन्त्रण भवन तथा जहाज पार्किङस्थलको निर्माणकार्य गरिरहेको छ ।

सरकारबाट विमानस्थल निर्माणकार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सहयोगीकारूपमा नेपाली कम्पनीलाई निर्माणकार्य जिम्मा दिएको थियो ।

निर्माणकार्य जारी रहेकै अवस्थामा नेपाली कम्पनीले आफूलाई चिनियाँ कम्पनीले काम गरेबापतको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माणकार्य रोकेर आन्दोलनमासमेत उत्रिएको थियो ।

दुई कम्पनीको विवादका कारण बन्द भएको विमानस्थल निर्माणकार्य सन्चालन गराउन सरकारीस्तरबाट लामै छलफल चलेको थियो ।

सो छलफलमा विमानस्थलको निर्माणका लागि नेपाली कम्पनीले गरेको कामको नापजाँच गर्ने, नापजाँचपछि पाँच दिनभित्र नेपाली कम्पनीले चिनियाँ कम्पनीलाई बिल–बीजक उपलब्ध गराउने र बिल–बीजक प्राप्त भएको सात दिनभित्र चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई रकम दिने सहमति भएको थियो ।

निर्णयअनुसार नेपाली कम्पनीले गरेको नापजाँचकार्य सकिएको र पेस गरिएको बिल–बीजकअनुसार रकमको विषयमा दुबै कम्पनीबीच छलफल (हिसाब किताब) जारी रहेको आयोजना प्रमुख शर्माले बताए ।

‘दुबैपक्षको सहभागितामा उहाँहरूबीच छलफल चलिरहेको छ’–आयोजना प्रमुख शर्माले भने–‘चिनियाँ कम्पनीको सहयोगीकारूपमा पुरानै कम्पनी बस्ने वा अर्को नयाँ कम्पनी आउने विषयमा भने अहिलेसम्म टुंगो लागिसकेको छैन ।’

वि.सं. २०२३ मा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ कम्पनीको नर्थ वेस्ट एभियसन कम्पनीले रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

तर, मधेस आन्दोलन र नाकाबन्दीका कारण विमानस्थल निर्माणकार्यमा बाधा उत्पन्न भएकाले उसले सन् २०१८ जुन महिनासम्म निर्माणकार्य सम्पन्न गर्ने समय पाएको छ ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सुरु भएको हो । रासस