Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


नारायणगढ–मुग्लिन सडकमा जोखिम क्षेत्रको पहिचान गरिने


0
Shares

चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखन्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए ।

उनले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको जानकारी दिए ।

चितवनको कविलासस्थित घुमाउनेमा दुई दिनअघि खसेको सुक्खा पहिरोका कारण दुईजनाको ज्यान गएको थियो । यो घटनामा अन्य दुईजना घाइते भए भने पाँचओटा गाडी पुरिए ।

सो घटनापछि सम्भावित दुर्घटना न्यून गर्न नारायणगढ–मुग्लिन सडक आयोजनालाई विशेष ध्यान दिन र कामलाई तीव्रगति दिन निर्देशन दिइएको भट्टले जानकारी दिए ।

अहिले उक्त आयोजनाले नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटरमा सडक चौडापार्ने काम गरिरहेको छ ।

बिहान १० देखि ४ बजेसम्मको ६ घन्टाको अवधिमा सो क्षेत्रमा भीभीआइपी, भीआइपी र एम्बुलेन्सलाईसमेत वैकल्पिक मार्गबाट पठाउने तयारी गरिएको प्रजिअ भट्टले जानकारी दिए ।

जोखिम क्षेत्रमा सौर्यबत्ती जडान गर्ने, आवश्यक ट्राफिक संकेत राख्ने, चेतनामूलक जानकारी राखिदिने र चालकलाईसमेत सचेत गराउने जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए ।

घटनालगत्तै आयोजनाका इन्जिनियरसँग छलफलसमेत भएको र निर्माणलाई तीव्रता दिने र सावधानी अपनाउने विषयमा गम्भीर बन्न स्थानीय प्रशासनले निर्देशन दिइएको लुइँटेलले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले काम गर्ने प्रविधिको अधिकतम् प्रयोग भएको जानकारी दिँदै अझै थप सुरक्षाको उपाय अपनाइने बताए ।

‘घुमाउनेमा अकल्पनीय घटना भएको हो, कसैले पहिरो खस्छ भनेकै थिएन’–उनले भने–‘अब सम्भावित जोखिम क्षेत्रको थप पहिचान गरेर सावधानीका साथ काम अघि बढाउँछौं ।’

उनकाअनुसार यसअघि जलवीरे, कालीखोला क्षेत्र उच्च जोखिम भनेर पहिचान भएको थियो र केराबारी र गाईघाटलाई पनि जोखिम क्षेत्रमा राखिएको थियो ।

भित्तो काटेपछि जाँच गरेरमात्रै गाडी जान दिइने
नारायणगढ–मुग्लिन सडकको पुनःनिर्माणकाक्रममा भित्तो काटिएको क्षेत्रमा रोड सेफ्टी इन्जिनियरमार्फत् जाँच गरेरमात्रै गाडी पठाइने भएको छ ।

चितवनका प्रजिअ भट्टले विज्ञ इन्जिनियरले गाडी पठाउन योग्य छ भनेपछिमात्रै स्थानीय प्रशासनसँगको समन्वयमा गाडीलाई जान दिइने जानकारी दिए ।

अहिले सो सडकको चार–पाँच स्थानमा भित्तो काट्ने काम जारी छ । सडक चौडापार्नेक्रममा विभिन्न घुम्ती, मोडमा र साँघुरो सडक क्षेत्रमा भित्तो काट्नैपर्ने आयोजनाले जनाएको छ ।

सबैभन्दा ठूलो भित्तो काट्नुपर्ने स्थान भने घुमाउने नै हो । सो क्षेत्रमा ठूलो पहिरो जोडिएको ढिस्को भएकाले विगत एक वर्षदेखि काम सुरु गरिएपनि सम्पन्न हुन सकेको छैन ।

गत सोमबार सोही क्षेत्रमा पहिरो खस्दा दुर्घटना भएको थियो । कामको ढिलासुस्ती र सावधानीका उपाय नअपनाउँदा जोखिम बढेको स्थानीयवासीले बताउँदै आएका छन् ।

विश्व बैंकको करिब रु तीन अर्बको लागतमा एसियाली मापदन्डको सडक निर्माणमा तीन ब्लकमा ६ ओटा कम्पनीले यहाँ काम गरिरहेका छन् ।

ठेक्का सम्झौता सकिने समय आगामी वैशाख भएपनि काम आधा पनि नभएकाले सम्झौता अवधि पुनः थपिएको छ । रासस