महासंघका अध्यक्ष पशुपति मुरारकाले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका शेखर गोल्छा र किशोर प्रधानको टिमसँग बुधबार महासंघका सहमतिको लागि पहल थालेका हुन् ।
छलफलमा गोल्छा र प्रधानसहितको टिम सहभागी थियो । छलफलपछि अध्यक्ष मुरारकाले सहमतिको लागि खाका तयारपार्ने सहमति भएको बताए ।
उनले सहमतिका लागि दुबै उम्मेदवार सकारात्मक देखिएको पनि बताए ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवारबीच सहमति गराएर सर्वसम्मत् नेतृत्व चयन गराउन सकिए सकारात्मक सन्देश जाने संस्थापक पक्षको भनाइ छ ।
गोल्छाको टिमबाट जिल्ला तथा नगरवस्तुको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान छन् ।
एसोसियटतर्फको उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध भइसकेका छन् ।
यस्तै, प्रधानको टिमबाट जिल्ला तथा नगरवस्तुको उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा शंकर पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
महासंघको साधारणसभा आगामी चैत २८ र २९ गते राजधानीमा हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्