नेपाली कांँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले केन्द्रीय नेताहरुलाई जनता फकाउनका लागि गाउँ पठाउन थालेका छन् ।
गाउँ तहमा हुने आमसभा र कार्यकर्ता भेटघाटमा पार्टीका एजेण्डा राख्नका लागि पार्टीले प्रभावशाली नेताहरुलाई गाउँस्तरमा परिचालन गरेको छ ।
पार्टीका एजेण्डा के हुने र घोषणा पत्रमा के राख्ने भन्नेमा दलहरु आन्तरिक गृहकार्यमा छन् ।
नेपाली काँंग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले बिकास र आर्थिक मुद्दा लिएर नेपाली कांग्रेस प्रचारप्रसारमा लागेको बताए ।
पार्टीको घोषणा पत्रमा मुख्य गरी आर्थिक सम्बृद्धीलाई जोड दिइने उनको भनाइ छ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भने चुनावी प्रचारप्रसारमा अन्य दल भन्दा एमाले अगाडि रहेको बताए ।
उनले एक दुई दिनमै आर्थिक सम्बृद्धी, विकास र गाउँकेन्द्रीत मुद्दा समेटेर एमालेले घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए ।
राजनीतिक मुद्दामा मधेस केन्द्रीत दलहरुलाई सहमतिमा ल्याउन नसकीरहेको अवस्थमा स्थानीय तहको निर्वाचन कति सुनिश्चित छ ? मुख्य दलका कार्यकर्ता नै आशंका ब्यक्त गरिरहेका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका दलले सहमतिको बाधक एमाले भएको आरोप लगाएका छन भने एमालेले त्यसको प्रतिवाद गर्दे सरकार नै दोषी भएको बताएको छ ।
एक अर्काप्रति आरोप प्रत्यारोप गरेपनि आगामी बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्नैपर्नेमा मुख्य दलहरु सहमत छन् ।
यस्तो स्थितिमा आफ्ना एजेण्डा जनतामा राख्दै राजनीतिक सहमति खोजेर चुनावका लागि उपयुक्त वातावरण बनाउनु उनीहरुको दायित्व हो ।





प्रतिक्रिया दिनुहोस्