२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


सिरियामा अमेरिकाद्वारा हमला, ५० भन्दा बढी मिसाइल आक्रमण


0
Shares

आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेपछि सिरियाली शासक बशर अल असदविरुद्ध क्रूद्ध बनेको अमेरिकाले असद सत्ताविरुद्ध आक्रमण थालेको हो ।

सिरियाली हवाई अखडालाई निशाना बनाइ शुक्रबार ५९ ओटा ‘टामहाक’ क्रूज मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरुले जनाएका छन् ।

मंगलबार विद्रोही नियन्त्रित क्षेत्रमा असद सत्ताले रासायनिक ग्यास प्रयोग गर्दा दर्जनौं सर्वसाधारण मारिएका थिए ।

रासायनिक हतियार प्रहारका लागि प्रयोग गरिएको हवाई अड्डामा आक्रमण गर्न आफूले निर्देशन दिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ट गरेका छन् ।

असद एक तानाशाह भएको र उनले निर्दोष व्यक्तिविरुद्ध रासायनिक आक्रमण गरेकाले रक्तपातपूर्ण संघर्ष र आतंकवाद अन्त्यका लागि अमेरिकालाई साथ दिन उनले सबै सभ्य मुलुकलाई आह्वान पनि गरेका छन् ।

आक्रमणबाट के–कस्तो क्षति पुगेको छ भन्ने प्रस्ट जानकारी आइनसकेपनि रुसलाई भने अमेरिकी कदमबारे अग्रिम जानकारी गराइएको दाबी पेन्टागनले गरेको छ ।

रासायनिक हतियार आक्रमणको घटनाबाट निकै आक्रोशमा आएको ट्रम्प प्रशासन सिरियाविरुद्धको आफ्नो रणनीति बदल्दै सीधै सैन्य आक्रमणमा ओर्लिएको हो ।

असद सत्ताले आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरेपछि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले आगामी दिनमा सिरियामा असदको कुनै भूमिका नहुने गरी कदम चालिने प्रस्ट गरेका छन् ।

अबका सबै राजनीतिक गतिविधि असदलाई सिरियाबाट हटाउनेमा केन्द्रित गरिने उनको भनाइ छ ।

सिरियाली नागरिकको सुरक्षाका लागि सैन्य हस्तक्षेप जरुरी रहेको भन्दै अमेरिकी रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसबीच छलफल नै भएको थियो । उक्त छलफललगत्तै अमेरिकाले सिरियाविरुद्ध मिसाइल आक्रमण थालेको हो ।

राष्ट्रपति असदको शासनविरुद्ध ६ वर्षदेखि लगातार भइरहेको गृहयुद्धमा झन्डै तीन लाख मानिस मारिइसकेका छन् भने लाखौं सर्वसाधारण सिरियाबाट पलायन भएका छन् ।

असद सत्ताविरुद्ध विद्रोह गरिरहेको दलहरुलाई अमेरिकी समर्थन छ भने असदलाई रुसी समर्थन छ । यस्तोमा अमेरिकाको पछिल्लो कदममा रुसको कस्तो प्रतिक्रिया आउनेछ भन्ने प्रस्ट भइसकेको छैन ।

पछिल्ला दिनमा गृहयुद्ध सिरियामा भएपनि यसको अन्तिम लगाम भने अमेरिकी र रुसी स्वार्थमा पुगेर अड्किएको छ ।

सिरियामा लगातार मानवताविरुद्धको अपराध भइरहँदा पनि केही गर्न नसकेको संयुक्त राष्ट्रसंघले घातक ग्यास प्रयोगबाट सर्वसाधारण मारिएपछि सुरक्षा परिषदको बैठक त बोलाएको थियो तर त्यो पनि अमेरिकी र रुसी अडानका बीचमा निरर्थक टुंगिएको थियो ।

सिरियामा ५४ वर्षदेखि सत्तामा रहेको ‘बाथ’ पार्टीको पछिल्ला उत्तराधिकारी असद सन् २००० देखि सत्तामा रहेका छन् । (एजेन्सी)