
कञ्चनपुर, फागुन १२ । शहरी सडकअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित सडक कालोपत्रे भएको एक महिनामै भत्किएपछि स्थानीयले सास्ती खेप्नुपरेको छ ।
सडक डिभिजन कार्यालयको शहरी सडक निर्माण कार्यक्रमअन्तर्गत गत असारमा निर्माण भएको ८ सय मिटर सडक कालोपत्रे गरेको एक महिनामै भत्किएको हो ।
सडक निर्माणका लागि कञ्चन राष्ट्रिय सेवासँग ३३ लाख ४४ हजारमा गत वर्ष वैशाखमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सडकअन्तर्गत कालोपत्रे र नालामा राखेको ह्युमपाईप समेत एक महिना नपुग्दै फुटेको स्थानीयले बताएका छन् ।
भत्किएको सडकखण्डका बारेमा सडक डिभिजन कार्यालयका प्रमुखले निरीक्षण गरी चाँडै मर्मत गर्ने आश्वासन दिएको भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष हरकसिंह धामीले बताए । त्यस्तै सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण कम्पनीको २ लाख ५६ हजार रुपैयाँ धरौटी रकम रहेकाले सोहीबाट सडकको मर्मत कार्य गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्