सो पार्टीका केन्द्रीय सदस्य एवं रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले शुक्रबार आयोगमा पुगेर प्रमख आयुक्त डा. अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो ।
कांग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो ।
सो अवसरमा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिता, निर्वाचनमा आउनसक्ने चुनौती र ऐन–कानुनमा देखिएको कमी–कमजोरीबारे छलफल भएको रक्षामन्त्री खाँणले जानकारी दिए ।
छलफलमा उनीहरुबीच स्थानीय तहको निर्वाचन उम्मेदवार छनोटको विधि र प्रक्रियाका सम्बन्धमासमेत छलफल भएको बताइएको छ ।
पार्टीको विधानअनुरुप केन्द्रीय पदाधिकारीलाई उक्त जिम्मेवारी प्रदान गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा पनि गहन छलफल भएको बुझिएको छ ।
आयोगले निर्वाचन तयारी राम्रो गरेको महसुस भएको बताउँदै रक्षामन्त्री खाँणले ‘केहीबाहेक अधिकांश जिल्लामा निर्वाचन कार्यालयले बोलाएको बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि सहभागिताले पनि निर्वाचनको सुनिश्चिता प्रदान गरेको छ’–भने ।
केही जिल्लामा बोलाएको समयमा राजनीतिक दलका प्रतिनिधि उपस्थित नभएका कारण जटिलता र समस्या आएको कुरा सो अवसरमा आयोगका तर्फबाट उनीहरुलाई जानकारी गराइएको थियो ।
निर्वाचनको लागि सरकारले आयोगलाई सबैखाले सहयोग उपलब्ध गराउँदै आएको बताउँदै रक्षामन्त्री खाँणले अहिले उठिरहेका कतिपय विषयवस्तु संविधान संशोधनमार्फत् सम्बोधन गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको उल्लेख गरे ।
एक प्रश्नको जवाफमा रक्षामन्त्री खाँणले भने–‘सबैलाई समन्वय गरेर सुरक्षा प्रदान गर्ने उद्देश्यसहित नेपाली सेना सुरक्षाको बाहिरी घेरामा रहेर निर्वाचनमा खटिनेछ ।’ रासस




प्रतिक्रिया दिनुहोस्