Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


कैदी बन्दीलाई उद्यमी बनाउन सम्झौता


0
Shares

शनिवार आयोजित नेवाः सांस्कृतिक ज्याझ्वः व झ्वःभ्वय् (नेवार सांस्कृतिक कार्यक्रम र परम्परागत भोज) मा पहिलो चरणमा यो बर्ष जेलमुक्त भएका ३० कैदीबन्दीलाई सक्षम उद्यमी बनाउन आवश्यक तालिम र अन्य सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले लिडिङ वूमेन एशोसिएसनसँगको सहकार्यमा यो कार्य गर्ने उल्लेख छ । महासंघको तर्फबाट उपाध्यक्ष शोभा गुरुङ र एशोसियसनको तर्फबाट जानकी प्रधान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालका लागि जापानी राजदूत महामहिम माशासी ओगावाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जापानी राजदूत ओगावाको जन्मदिन समेत परेकोले आयोजकले नेवार परम्परा अनुसार सगुन दिएको थियो ।

शुभकामनासाथ अण्डा, माछा, बारा लगायत खाद्यसामग्री सगुन दिइरहँदा सहभागी निकै उत्साहित देखिएको थियो ।

प्रमुख अतिथि ओगावाले कार्यक्रमले आफुलाई खुशी बनाएको बताउँदै सहयोगका लागि आफूपनि तत्पर रहेको बताए । कार्यक्रम लिडिङ वूमेन एशोसियन, सजेना क्राफ्ट र राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको हो ।

कार्यक्रममा ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ठूले राई, ललितपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद दाहाल, नख्खु कारागार प्रमुख टेकबहादुर केसी, नेपालका लागि अमेरिकी राजदुतावासकी प्रवक्ता ईनका स्टोनह्याम, द्वारिकाजय् होटल्स एण्ड रिसोर्टस्की अध्यक्ष अम्बिका श्रेष्ठ, इन्टरनेशनल कन्सर्न सेन्टरकी प्रमुख प्रा.डा. अन्जान शाक्य, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नख्खु कारागारका कैदी बन्दीले निर्माण गरेका विभिन्न सामग्रीहरुका साथै पेडीक्याब (आधुनिक रिक्सा) पनि प्रदर्शन गरिएको थियो भने ललितपुर महानगरभित्र २० जना महिलाहरुलाई पेडिक्याब चालउने तालिम दिई संचालनमा ल्याउने योजनाबारे पनि जानकारी गराइयो ।

पाटन म्यूजियममा सम्पन्न उक्त कार्यक्रममा रुद्राक्ष ब्याण्डका मिलन तण्डुकारले जलतरंगमा विभिन्न धुनहरु सुनाएका थिए । इश्वर जोशी र मिलेश तण्डुकारको साथमा प्रस्तुत जलतरंगमा विभिन्न धून प्रस्तुतिकासाथै ब्याण्डबाट सूर बर्षा शीर्षकमा विभिन्न लोकप्रिय धुनहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वजन रघुवंशी, शर्मिला महर्जन, सजिना महर्जनले काठमाडौं उपत्यकाको नृत्य शीर्षकमा महामञ्जुश्री, बज्रयोगिनी, कुमारी नृत्य प्रस्तुत गरेका थिए भने भैरवकाली चर्या र धिमे लगायत सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए ।

११ बर्षीया ट्युलिप श्रेष्ठ र ६ बर्षीय सजेना चित्रकारले प्रस्तुत गरेको नृत्य पनि कार्यक्रमको आकर्षण बन्यो भने गायक सुरजवीर बज्राचार्यले विश्व प्रसिद्ध ग्याङगम स्टाइलको लय्मा नेपालभाषामा निर्मित लोकप्रिय गीत ‘ग्यानापु स्टाइल’ सुनाएका थिए ।

नेवार परम्परा अनुसार टिका, कोखा (रातो कपडाको माला) र तुच्चा (खाजा) दिएर शुरु गरिएको कार्यक्रममा स्वागत मन्तब्य लिडिङ वूमेन एशोसिएसनकी अध्यक्ष जानकी प्रधान श्रेष्ठले राखेकी थिइन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको समापन भने नेवार परम्परागत भोजबाट गरिएको थियो ।