चुनावीसभा तथा घरदैलो कार्यक्रममा आएको तीव्रतासँगै जिल्लामा चुनावी सरगर्मीसमेत बढेको छ ।
जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहमा आगामी वैशाख ३१ गते चुनाव हुुँदैछ । चोकचोक र चियापसलमा उम्मेदवारको चर्चापरिचर्चाले हुन थालेका छन् ।
अहिलेसम्म कुनैपनि दलले औपचारिकरुपमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीले वैशाखको पहिलो हप्तासम्ममा जिल्लाका सबै उम्मेदवारको टुंगो लगाइसक्ने बताए ।
दलहरुले प्रतिस्पर्धी दलहरुको उम्मेदवारको अवस्था हेरेर आफ्नो उम्मेदवार बनाउने रणनीति तय गरेका कारण र आकांक्षी धेरै भएका कारण जिल्लामा उम्मेदवारको टुंगो लगाउन ढिला भएको छ ।
कहाँ को–को आकांक्षी : शारदा नगरपालिका
जिल्लाको सदरमुकामलाई समेटेको शारदा नगरपालिका क्षेत्रफलको हिसाबले देशकै चांथो ठूलो नगरपालिका हो ।
यस नगरपालिकाबाट प्रमुख पदको उम्मेदवारका लागि प्रमुख दलका आकांक्षीमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन् ।
नेपाली कांग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेविसंघका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर इकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन् ।
अधिकारी केही दिनअघि जिविसको वरिष्ठ प्रशासकीय अधिकृतबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् ।
यस्तै, एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेशकुमार गौतम, टोपबहादुर थापा र इन्द्र शर्माको नाम चर्चामा छ ।
माओवादी केन्द्रले प्रमोद श्रेष्ठको नाम अघि सारेको छ ।
यस्तै, राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई नगरप्रमुखकोरुपमा अघि सारेको जनाएको छ ।
मुख्यगरी नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको शारदा नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले नगरप्रमुखमा नेवार समुदायका व्यक्तिलाई अघि सारेर खलंगामा रहेको नेवार समुदाय भोट आफूतिर तान्न खोजिरहेको देखिन्छ ।
बागचौर नगरपालिका
स्रोतको हिसाबले धनि मानिने बागचौर नगरपालिका प्रमुख तीन दलको पहिलो रोजाइँको नगरपालिका बनेको छ ।
यस नगरपालिकाको प्रमुख पदमा माओवादीका पोलिटब्यूरो सदस्यदेखि एमालेका पूर्वजिल्ला अध्यक्षलगायतको चर्चा छ ।
नेपाली कांग्रेसको तर्फबाट एकराज डीसी, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन् ।
नेकपा एमालेको तर्फबाट पार्टीका पूर्वअध्यक्ष लोकबहादुर डाँगी, सीपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ ।
माओवादी केन्द्रकोतर्फबाट पोलिटब्यूरो सदस्य भीमप्रकाश शर्मा, कृतिबहादुर पुनसमेतको चर्चा भएपनि लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीले आफूहरु पनि आकांक्षी रहेको दाबी प्रस्तुत् गरिसकेका छन् ।
बागचौरमा राप्रपाको तर्फबाट टोपबहादुर केसी र अमर गिरीले आकांक्षा देखाएका छन् । तर, यस नगरपालिकामा प्रमुख तीन दलको त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।
वनगाड कुपिन्डे नगरपालिका
वनगाड कुपिन्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तकोरुपमा हेरेका छन् ।
एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य कर्णबहादुर बुढाथोकीबीच नगरप्रमुख पदमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
तर, एमालेभित्र टोपबहादुर विष्ट र माओवादीभित्र कृतिबहादुर राना पनि आकांक्षी छन् । नेपाली कांग्रेसबाट पुरुषोत्तम शर्मा र दीपेन्द्र विष्टले आकांक्षा देखाएका छन् ।
सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेद्वार
दार्मा गाउँपालिकामा माओवादी केन्द्रकातर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सचिव निमबहादुर केसी, कांग्रेसबाट रामचन्द्र केसी र एमालेबाट दलबहादुर केसी आंकाक्षी देखिएका छन् ।
कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्रकोतर्फबाट पूर्वसभासद उकाकान्त शर्मा, धर्मे बुढाथोकी, तिलवीर बुढाथोकी, दीलमाया बुढा र डिल्लीराज शर्माले आकांक्षा देखाएका छन् ।
यस गाउँपालिकामा एमालेबाट भैरव शाह र लालबहादुर रावत तथा कांग्रेसबाट विवेकसिंह राठौर र धनबहादुर हमालको चर्चा छ ।
राप्रपाले पनि यस गाउँपालिकामा भरत बुढाथोकी र कृष्णबहादुर चन्दमध्ये एकजनालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
यस्तै, कपुरकोट गाउँपालिकामा एमालेबाट भद्रसिंह बुढा र भीमबहादुर सेन, माओवादी केन्द्रबाट प्रदीप बस्नेत र प्रकाश भण्डारी तथा कांग्रेसबाट विष्णु शर्मा, दुर्गा गिरी र राप्रपाबाट जागेश्वर गिरीले आकांक्षा देखाएका छन् ।
लुहाम गाउँपालिकामा एमालेबाट भीउसेन नेपाली, बालकृष्ण महर, गिर्दल बोहरा, कुलबहादुर भण्डारी र पवित्रा केसीले आकांक्षी देखिएका छन् ।
यस गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अजय रोका, नेत्र पुन र राजेन्द्र थापा, कांग्रेसका तर्फबाट खिमबहादुर रावत, मानबहादुर डाँगी तथा राप्रपाको तर्फबाट गणेश भण्डारी र मंगलसिंह पुनको चर्चा छ ।
यस्तै, कालिमाटी गाउँपालिकामा कांग्रेसबाट गणेश केसी, एमालेबाट दानबहादुर केसी, टेकमान वली र गेहेन्द्र केसी, माओवादी केन्द्रबाट पुरुषोत्तम भट्टराई र असवीर बुढाथोकी तथा राप्रपाबाट रत्नलाल भण्डारी र प्रदीप थापाको चर्चा छ ।
यस्तै, ढोरचौ गाउँपालिकामा एमालेकोतर्फबाट मानबहादुर चलाउने र जितबहादुर चलाउने, कांग्रेसकोतर्फबाट भरत गिरी र गुमान बस्नेत, माओवादी केन्द्रकोतर्फबाट रामबहादुर बस्नेत र नरवीर चलाउने तथा राप्रपाकोतर्फबाट रामबहादुर चलाउने र रेशम चलाउनेले आकांक्षा देखाएर चुनावीसभा तथा घरदैलो गरिरहेका छन् ।
त्यस्तै, छत्रेश्वरी गाउँपालिकामा एमालेबाट पूर्वजिल्ला अध्यक्ष हरि केसी, ओजबहादुर केसी, टोपबहादुर चन्द, राजबहादुर बुढाथोकी र गोविन्द केसी, कांग्रेसबाट केशबहादुर विष्ट र वेदबहादुर विष्ट, माओवादी केन्द्रबाट चित्रबहादुर केसी र राधा शर्मा तथा राप्रपाबाट अनुवमसिंह श्रेष्ठ, फौदबहादुर बस्नेत र चन्द्रबहादुर वलीको नाम चर्चामा छ ।
आगामी स्थानीय निर्वाचनका लागि जिल्लामा १५ ओटा राजनीतिक दल दर्ता गरिएको भएपनि कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा गरी चार पार्टीले चुनावी क्रियाकलाप तीव्र पारेका छन् ।




प्रतिक्रिया दिनुहोस्