जिल्लामा क्रियाशील, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका राजनीतिक दलले चुनावकेन्द्रित आमसभा, कार्यकर्ता भेला, बैठक तथा सम्मेलनलाई तीव्रता दिएका छन् ।
सरकारले चुनाव घोषणा गरेपछि जिल्लाका नेताले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा दलहरुले स्थानीय निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्नका लागि कसरत थालेका हुन् ।
गाउँपालिकाको केन्द्र विवादले रघुगंगा गाउँपालिकाको राखु पिप्ले, भगवती र बेगखोला क्षेत्रका बासिन्दाले समस्या समाधान नभएसम्म निर्वाचन बहिस्कार अभियान चलाएपछि त्यस क्षेत्रमा निर्वाचनसम्बन्धी कुनै गतिविधि भएका छैनन् ।
अन्य चार गाउँपालिकासहित बेनी नगरपालिकामा दलहरुले आफ्नो चुनावी एजेन्डालाई जनतासामु पुर्याउनका लागि गाउँपालिका र वडाकेन्द्रित सभा तथा कार्यकर्ता भेलालगायतका कार्यक्रमलाई जोड दिएका छन् ।
चुनावी कार्यक्रमसँगै जिल्लामा रहेका दलहरुले नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार छनोटको गृहकार्यलाई तीव्रतासाथ अगाडि बढाएका छन् ।
लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि सबै प्रमुख दलमा नगर र गाउँपालिका प्रमुख एवं उपप्रमुख पदमा स्वभाविकरुपमा आकांक्षी धेरै देखिएका छन् ।
नेकपा एमाले म्याग्दीका उपसचिव देवबहादुर घलेले नगरपालिकाको प्रमुख पदको उमेदवारमा पार्टीतर्फबाट धेरैले आकांक्षा राखेको बताए ।
‘धेरै युवा साथीले नगरप्रमुखको दाबी गर्नुभएको छ, उहाँहरु सबैको सम्मान हुने गरी पार्टीले योग्य उम्मेदवार चयन गर्नेछ’–घलेले भने ।
नेपाली कांग्रेसमा पनि स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा युवाले नै आकांक्षा देखाएका छन् ।
कांग्रेसको मालिका गाउँपालिकास्तरीय कार्यकर्ता भेलाले गाउँपालिका प्रमुखमा मालिका गाउँपालिका–६ दुखुका युवा श्रीप्रसाद रोकालाई गाउँपालिका प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
‘म सक्रियरुपमा राजनीतिमा लागेको धेरै भएको छैन, युवाको भूमिकलाई सम्मान गर्दै पार्टीले मलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ, त्यसलाई मैले कुशलतापूर्वक निर्वाह गर्नेछु’–गाउँपालिका प्रमुखका उम्मेवार रोकाले भने ।
नगरपालिका, गाउँपालिका र वडा अध्यक्ष र उपाध्यक्षदेखि अन्य पदमासमेत युवाले बढी उम्मेदवार बन्न दाबी पेस गरिरहेको नेपाली कांग्रेसका जिल्ला सभापति खमवीर गर्वुजाले बताए ।
‘अहिले गाउँपालिकास्तरबाट उम्मेदवारको छनोट प्रक्रिया सुरु भएको छ, कतिपय ठाउँमा त त्यहाँको पार्टी कमिटीले सर्वसम्मतरुपमा गाउँपालिका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवारको टुंगो लगाइसकेको छ, ती कमिटीबाट आएका सिफारिसको आधारमा जिल्ला कार्यसमितिले उम्मेदवारको अन्तिम टुंगो लगाउँछ’–सभापति गर्वुजाले भने ।
लामो समयपछि स्थानीय तहको चुनाव हुन लागेका कारण पनि युवा बढी नेतृत्वमा पुग्ने अपेक्षासहित आ–आफ्नो पार्टीबाट विभिन्न पदको उम्मेदवार बन्न इच्छुक देखिएका छन् ।
स्थानीय तह पुनःसंरचनाले राज्यका सेवा सुविधा गाउँ–गाउँ पुग्ने र त्यहाँको समस्या र सम्भावनाको उजागर आफैं गर्नुपर्ने ऐतिहासिक परिस्थिति भएकाले पनि बढी युवा उम्मेदवारको आकांक्षी देखिएको नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक गोविन्द पौडेलले बताए ।
उनले आफ्नो दलमा नगरपालिका, गाउँपालिका र वडा अध्यक्ष पदमा युवा पुस्ताले नै नेतृत्व गरेकाले स्थानीय निर्वाचनमासमेत सोहीअनुसार युवालाई उम्मेदवार बनाउने तयारी गरेको बताए ।
‘धेरै ठाउँमा युवालाई नै उम्मेदवार बनाउन सुझाव र दाबी आएको छ, ‘अग्रजको सम्मान र युवाको नेतृत्व’ हुने गरी उम्मेदवार छनोट गर्छौं, परिवर्तनका सम्बाहक युवाको नेतृत्व अहिलेको आवश्यकता पनि हो’–संयोजक पौडेलले भने ।
नेकपा माओवादी केन्द्रले वडा अध्यक्षदेखि सदस्यको टुंगो सम्बन्धित वडाको सिफारिसमा गाउँपालिका र नगरपालिकास्तरीय पार्टी कमिटीले निर्णय गर्ने र जिल्ला कमिटीले त्यसलाई स्वीकृत गर्ने तथा गाउँपालिका र नगरपालिकाको पदाधिकारी पदको उम्मेदवारको छनोट भने सम्बन्धित कमिटीको सिफासिरमा जिल्ला कमिटीले निर्णय गर्ने र त्यसलाई प्रदेश कमिटीले स्वीकृत गर्ने कार्यविधि बनाएको छ ।
राज्य पुनःसंरचनापश्चात पहिलोपटक स्थानीय तहको निर्वाचन हुन लागेकाले पनि नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख पद हत्याउन प्रमुख दलको प्रतिष्ठाको विषय बनेको देखिन्छ ।
विशेषगरी सामाजिक सञ्जालबाट पनि दललाई युवाहरुले नेतृत्वको अवसरका लागि दबाब दिन थालेका छन् ।
विगतमा भएका चुनावी मतपरिणामलाई हेर्दा म्याग्दीमा अब हुन लागेको चुनावमा एमाले, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा १२ ओटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय र जिल्लास्थित सुरक्षा निकायलेसमेत आफ्नो तयारीलाई तीव्र बनाएको जनाएका छन् । रासस




प्रतिक्रिया दिनुहोस्