Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


मतदाता सामग्री जिल्ला पठाउन सुरु


0
Shares

फाइल फोटो

आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए ।

मतदाता शिक्षासम्बन्धी पोस्टरमा निर्वाचन आचारसंहिता किन र कसले पालना गर्नुपर्छ, गाउँसभा र नगरसभामा निर्वाचित हुने पदाधिकारी, मतपत्र लिने, सातवटा अलगअलग चिह्नमा स्वस्तिक चिह्न लगाउने, मतपत्र पट्याउने र खसाल्ने विषय समेटिएको छ ।

त्यस्तै, मतपत्र बदर हुने अवस्था, मतदानको समय, मतदानका लागी लाइनमा बस्ने तरिका, मतदान गर्नुपर्ने कारणलगायतका विषयपनि शैक्षिक सामग्रीमा समेटिएका छन् ।

आयोगले आगामी निर्वाचनका लागि झन्डै ५५ लाख थान मतदाता शिक्षा सामग्री मुद्रण गरिएको जनाएको छ ।

बाँके, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, डडेल्धुरा, अछाम, बाजुरा, बझाङलगायतका जिल्लाका लागि आवश्यक मतदाता शिक्षासामग्री बोकेका गाडी आयोगबाट प्रस्थान गरिसकेका छन् ।

मुलुकका ५४ जिल्लाका लागि त्यस्ता मतदाता शिक्षासम्बन्धी सबै सामग्री प्याकिङ भइसकेको आयोगले जनाएको छ ।

ठूलो मतपत्र, निकैपछि हुन लागेको स्थानीय तहको निर्वाचन, एउटै मतपत्रबाट सातजना उम्मेदवारलाई चुन्नुपर्ने अवस्था र मतदाताको अमूल्य मत बदर भएर खेर नजाओस् तथा मतदान गर्ने सन्दर्भमा मतदाता अलमलमा नपरुन् भनेर आयोगले आगामी निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमलाई घरदैलोमा पुर्‍याउन लागेको हो ।

मतदाता शिक्षाका लागि यही वैशाख १ गतेदेखि २१ हजार स्वयंसेवक मतदाताको घरदैलोमा खटिने छन् । सो क्रममा एकजना स्वयंसेवीले कम्तीमा पनि ७०० देखि एक हजारसम्मलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराउनुपर्नेछ ।

स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने सिलसिलामा निकै महत्वपूर्ण विषयका रुपमा रहेको मतदाताको परिचयपत्र वितरणको काम आयोगले आगामी वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट गर्ने निर्णय गरेको छ ।

हरेक मतदान केन्द्रबाट मतदातालाई सहज र सरल ढंगले मतदाता परिचयपत्र वितरण गर्न चैत २७ गते नै मतदान अधिकृतको टोली मतदान केन्द्रमा पुग्ने व्यवस्था मिलाइनुपर्ने निर्णय आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

परिचयपत्र सकेसम्म सम्बन्धित मतदाता आफैँले लिनुपर्ने, यदि त्यो हुन नसकेमा परिवारको सदस्यमार्फत भर्पाई गरेर लिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

मतदाता परिचयपत्र वितरण गर्नका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको परामर्शमा वितरणको व्यवस्था मिलाउनपनि आयोगले मतदान अधिृकतलाई निर्देशित गरेको छ ।

त्यस्तै, निर्वाचन आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि यही चैत ३० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

आजसम्म संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नयाँ शक्ति पार्टी नेपाललगायतका ३६ वटा राजनीतिक दरले हस्ताक्षर बुझाइसकेको आयोगले जनाएको छ ।

वैशाख १६ गते उम्मेदवारको मनोनयन गर्दा कुन दलको कुन उम्मेदवार हुन् भनेर छुट्याउन र दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले यस्तो निर्णय गरेको हो । रासस