
इस्लामावाद, फागुन ११ । पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको मदरसालाई नियन्त्रणमा लिएको छ ।
बहावलपुरस्थित मदरेसातुल असाबर र जामा–ए–मस्जिद सुब्हानअल्लाहलाई सरकारले नियन्त्रणमा लिएको हो । मदरसा नियन्त्रणमा लिएर त्यहाँ एक सरकारी अधिकारीलाई प्रशासकको रुपमा खटाइएको पञ्जावको गृह मन्त्रालयले जनाएको छ ।
सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ । यी मदरसामा ६ सय विद्यार्थी पढ्दै आएका थिए । यी मदरसालाई भारतले जैस–ए–मोहम्मदको हेडक्वाटर भनेर प्रचार गर्दै आएको थियो ।
पाकिस्तानी सूचनामन्त्री चौधरी फवाद हुसेनले यो कारबाही नेसनल एक्सन प्लानअनुसार गरिएको बताए । भारत प्रशासित कश्मिरको पुलवामामा गरिएको आतंककारी आक्रमणको जिम्मेवारी जैस–ए–मोहम्मदले लिएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले मदरसामा कारबाहीको निर्णय गरेको थियो । सोही बैठकले हाफिज सइदको संगठन जमात–उद–दावा र फलाह–ए–इन्सानियत फाउन्डेसनलाई प्रतिबन्ध लगाउने निर्णय पनि गरेको थियो ।
सन् २००१ को अक्टोबरमा भारतको संसद् भवनमा भएको आक्रमण, २००२ मा अमेरिकी पत्रकार डेनियल पर्लको हत्याजस्ता घटनामा जैस–ए–मोहम्मदको हात रहेको बताइन्छ ।
संयुक्त राष्ट्रसंघले जैस–ए–मोहम्मदलाई आतंकवादी संगठनको सूचीमा राखेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्