Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


डीपीएल क्रिकेटमा अत्तरिया र रुपन्देहीको विजयी सुरुआत


0
Shares

धनगढीमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सोमबार ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको अत्तरियाले बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ४० रनले हरायो ।

१४७ रनको चुनौती पछ्याएको काठमाडौं १८ ओभर ४ बलमा अलआउट हुँदै १०६ रनमै समेटिएपछि अत्तरियाले विजयी सुरुआत गरेको हो ।

काठमाडौंका लागि अलराउन्डर सोमपाल कामीले ४० रन बनाए । त्यस्तै, सन्तोष भट्टले ३१ रनको योगदान दिएको इनिङमा अरु कुनैपनि खेलाडीले दाहोरो अंकसमेत जोड्न सकेनन् ।

‘म्यान अफ द म्याच’ अभिनाश बोहराले ३ ओभर ४ बल बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, विनोद लामाले ९ रन खर्चेर ३ विकेट झारे ।

यसअघि, पहिले ब्याटिङ गर्दै अत्तरियाले योगेन्द्रसिंह कार्कीको ५७ रनको मद्दतले ६ विकेटको क्षतिमा १४६ रन बनाएको थियो ।

काठमाडौंका सोमपालले २ विकेटसमेत लिएका थिए ।

सोमबारै भएको दोस्रो खेलमा शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्सले विनोद भण्डारी नेतृत्वको कन्चनपुर आइकोनिकलाई १४ रनले हरायो ।

१४६ रनको चुनौती पछ्याएको कन्चनपुरले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्र बनाउन सक्यो ।

सागर पुनले ३९ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा सहाब आलमले ८ रन खर्चेर ३ तथा कृष्ण कार्कीले २६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, कप्तान शक्तिले २ विकेट झारे ।

यसअघि, पहिले ब्याटिङ गरेको रुपन्देहीले ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

हरिशंकर शाहले ३३ तथा प्रकाश केसीले २६ रन जोडे । कुशल भुर्तेलले ४ विकेट झारे ।