Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसले सबै तहमा प्रचार समिति गठन गर्ने


0
Shares

पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सोमबार बसेको बैठकले यही चैत ३१ गतेभित्र अनिवार्यरुपमा सबै जिल्लामा प्रचार–प्रसार समिति गठन गर्न परिपत्र गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समिति गठन गर्दा जिल्लास्थित पार्टीको जिल्ला प्रचार विभाग प्रमुखको संयोजकत्वमा, नेपाल प्रेस युनियनको अध्यक्ष वा युनियनले तोकेको प्रतिनिधिलाई सहसंयोजक बनाउन निर्देशन दिइएको छ ।

जिल्ला प्रचार–प्रसार समितिलाई आगामी वैशाख २ गतेभित्र जिल्लाभित्रको सबै स्थानीय तहमा प्रचार–प्रसार समिति गठन गर्न पार्टीले निर्देशन दिएको छ ।

समिति गठन भएको जानकारीसहितको सम्पूर्ण विवरण वैशाख ३ गतेभित्र केन्द्रीय प्रचार–प्रसार समितिमा पठाउनुपर्ने समितिको निर्णय छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिले नेता रमेश लेखक संयोजक र गगनकुमार थापा सहसंयोजक रहेको २५ सदस्यीय केन्द्रीय प्रचार–प्रसार समिति गठन गरिसकेको छ । उक्त समितिले विभिन्न कार्यदल गठन गरी प्रचार–प्रसारका गतिविधि सन्चालन गरिरहेको छ ।

स्थानीयस्तरका प्रत्येक समितिले वैशाख ३१ गतेसम्मको समयलाई विभिन्न चरणको विभाजन गरी प्रत्येक चरणको गर्ने सम्पूर्ण कार्ययोजनासहितको कार्यतालिका बनाउने जिम्मेवारी दिएको मुख्यसचिव पौडेलले बताए ।

साथै, उक्त कार्ययोजना अविलम्ब केन्द्रीय प्रचार–प्रसार समितिमा इमेल वा फ्याक्समार्फत् पठाउने व्यवस्था गर्नुपर्नेछ ।

पार्टीले प्रत्येक स्थानीय तहको आफ्नो छुट्टै घोषणापत्र अनिवार्यरुपमा बनाउनुपर्ने निर्देशन दिएको छ ।

स्थानीय प्रचार समितिलाई आफ्नो स्थानमा भएको निर्वाचन अभियान र गतिविधिको प्रचार–प्रसारका लागि स्थानीय सन्चारमाध्यम (टीभी, रेडियो, अनलाइन, पत्रपत्रिका)लाई प्रत्येक कार्यक्रमको सूचना र समन्वय गर्ने तथा राष्ट्रिय सन्चारमाध्यमा दिनुपर्ने समाचारका लागि तत्कालै केन्द्रीय मिडिया सेन्टरलाईसमेत उपलब्ध गराउन निर्देशन दिइएको छ ।

स्थानीय प्रचार समितिले पार्टीका कार्यक्रम, उम्मेदवारका व्यक्तित्व र योगदानबारे आधिकारिक धारणा उपलब्ध गराउने र पार्टी, भ्रातृसंस्था, शुभेच्छुक संस्थाका प्रतिनिधिमार्फत् त्यसको प्रचार–प्रसार गर्ने व्यवस्था गर्नुपर्नेछ । रासस